हेटौँडा : हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा पालिकामा हाजिर हुनुभएको छ । थाइल्याण्ड भ्रमणबाट फर्किएर लामा आइतबार पालिकामा हाजिर हुनुभएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले जानकारी दिनुभएको छ ।
‘नगरप्रमुख लामा आज (आइतबार) पालिकामा हाजिर हुनुभएको छ । थाइल्याण्डबाट कहिले फर्कनु भयो यकिन भएन । आज कार्यालयमा आउनुभएको थियो’, प्रमुख प्रशासकीय अधिकृत गौतमले भन्नुभयो । नगरप्रमुख लामा थाइल्याण्ड जानु भएको र आउनुभएको विषयमा उपमहानगरपालिकाले औपचारिक जानकारी गराएको छैन । यसअघि पनि नगरप्रमुख लामाको अन्तर्राष्ट्रिय भ्रमणको विषयमा उपमहानगरले औपचारिक जानकारी गराउने गरेको छैन । यसअघि कात्तिक पहिलो साता पनि नगरप्रमुख लामाले दक्षिण कोरिया भ्रमण गर्नुभएको थियो ।











