हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रे, रामेछाप र धादिङ जिल्लामा शुक्रबार ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
रामेछापको सुनापती गाउँपालिका–१, पानीट्याङ्कीका ओभरडोज औषधि सेवनका गर्दा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय इन्द्रबहादुर राय रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार राती ११ बजेर ३० मिनेटको समयढमा रायले लामो समयदेखि दैनिक रूपमा सेवन गर्दै आएको डिप्रेशनसम्बन्धी औषधि अत्यधिक मात्रामा सेवन गरेपछि अचानक स्वास्थ्य अवस्था बिग्रिएको थियो । उनलाई उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल लैजाने क्रममा शुक्रबार बिहान ६ बजेर ३५ मिनेटमा बाटोमै मृत्यु भएको भनि चिकित्सकले घोषणा गरेका प्रहरीले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८, वाङ्ख्य टोलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । शिवनारायण मानन्धरको पाँचतले पक्की घरको भुईँतलामा डेरा गरी बस्दै आएका हाल नामथर नखुलेका अन्दाजी ५० वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार बिहान ९ बजेको समयमा पुरुष कोठाको भुईँमा लडिरहेको अवस्थामा मृत भेटिएका थिए ।
धादिङको निलकण्ठ नगरपालिका–७, पिपलटारमा खाना खाँदा घाँटीमा अड्किएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा निलकण्ठ नगरपालिका–८, टारगाउँ घर भई हाल पिपलटारस्थित छोरीको घरमा आएकी ६२ वर्षीया बट्टाई विक रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार साँझ ५ बजेको समयमा खाना खाने क्रममा घाँटीमा खाना अड्किए उपचारका लागि जिल्ला अस्पताल धादिङबेशी लगिएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।











