हेटौँडा : निरञ्जना चन्द ‘निरू’ को कविता संग्रह ‘वनफूलको विद्रोह’ माथि हेटौँडामा परिचर्चा भएको छ । शनिबार झरना साहित्यिक परिवार मकवानपुरको ३२१ औँ साहित्य श्रृंखला अन्तर्गत परिचर्चा भएको हो ।
हेटौँडा–५, भैरवरोडस्थित साहित्य संगम तथा सिस्नुपानी नेपालको सभाहलमा भएको कार्यक्रममा साहित्य सङ्म मकवानपुरका सल्लाहकार एवम् समीक्षक डा. निमेष निखिलले कृतिको समीक्षा गर्नुभयो । कविता साहित्यका अन्य सबै विधाको जननी भएको उल्लेख गर्नुहुँदै समीक्षक निमेष निखिलले कविता सूत्रको भाषा भएको र एकचोटी पढ्दैमा नबुझिने बताउनुभयो । कविता सङ्ग्रहमा समावेश ६१ वटा कविता प्रायः सबै एउटा महिला पात्रलाई गम्भिर अन्वेषकको रुपमा राखिएको र महिलाका पीडाहरू कवितामा समेटिएको समीक्षक डा. निखिलले बताउनु भयो । केहि कविता सशक्त भएपनि केहि कविता संरचनाको दृष्टिले कमजोर रहेको, उर्दु र फारसी भाषाका आगन्तु शब्दको प्रयोग नगरेको भए अझै राम्रो हुने उहाँको निश्कर्ष छ ।
कवि निरञ्जना चन्द ‘निरु’ ले आफू आगन्तु शब्दबाट बच्ने धेरै कोसिस गरेपनि केहि आगन्तुक शब्दको प्रयोग गरिएको स्विकार्नु भयो । महिला लेखकहरुले लेख्ने विषय छनोट गर्न र लेखेपछि छाप्न गाह्रो हुने अवस्था आज पनि समाजमा विद्यमान रहेको निरञ्जनाको भनाइ छ । २०४४ सालमा सुर्खेत जिल्लाको सिम्तामा जन्मनुभएकी कवि निरञ्जनाको यो पहिलो कविता सङ्ग्रह हो । गत कात्तिक २५ गते काठमाडौँमा एक कार्यक्रमका बीच कविता सङ्ग्रह ‘वनफूलको विद्रोह’ को विमोचन भएको थियो । शिक्षण पेशामा रहनुभएकी निरञ्जनाको २०७६ सालमा ‘निरुको साइनो छोटा कविता सङ्ग्रह’ र २०७७ सालमा ‘निरुपण’ मुक्तक सङ्ग्रह प्रकाशन भइसकेको छ । झरना साहित्यिक परिवार मकवानपुरकी अध्यक्ष गायत्री रुपाखेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा महाकाव्यकार मुना अर्यालको प्रमुख आतिथ्य रहेको थियो ।











