खेलकुद महोत्सव उद्धघाटनको क्रममा खिचिएको तस्वीर ।

हेटौंडा : हेटौंडा–१५, शिखरपानीस्थित गौरीशिखर इङ्लिस स्कूलको वार्षिक खेलकुद महोत्सव सुरु भएको छ । बिहीबारदेखि औपचारिकरुपमा खेलकुद महोत्सव सुरु भएको विद्यालयका गणित शिक्षक रिजन पुलामी मगरले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक तिवारीको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा १५ नम्बर वडाका वडा सदस्य पातलीमाया रुम्बाको प्रमुख आतिथ्य रहेको थियो । बिहीबार नर्सरीदेखि कक्षा ८ सम्मका विद्यार्थीहरु बीच प्लेट सन्तुलन, सोली संकलन, कप सन्तुलन, तातो आलु, र विभिन्न किसिमका दौड प्रतियोगिता गराइएको थियो । यसैगरी, शुक्रबार चम्चा दौड, जोडी चम्चा दौड, बैलुन ब्रस्टलगायत प्रतियोगिता भएको थियो ।

आज शनिबार कक्षागतरुपमा बल संकलन, रिले दौड, चकलेट संकलन, दौड प्रतियोगिता, फुटबल र म्याराथन प्रतियोगिता हुँदैछ । यसैगरी, शनिबार बिहान अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिता हुँदैछ । महोत्सवको अन्तिम दिन आइतबार पनि कुर्सी मिलाउने, प्लेट संकलन गर्ने, रिङ रिले, कबड्डीलगायतका प्रतियोगिता आयोजना गरिने मगरले बताउनुभयो ।