समीक्षक निमेष निखिल (दायाँ) लाई मायाको चिनो स्वरुप पुस्तक हस्तान्तरण गर्नुहुँदै लेखक बसन्त पराजुली ।

हेटौँडा : पत्रकार बसन्त पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’ माथि हेटौँडामा परिचर्चा कार्यक्रम भएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा भएको परिचर्चा कार्यक्रममा साहित्य संगम मकवानपुरका सल्लाहकार एवम् समीक्षक डा. निमेष निखिलले कृतिको समीक्षा गर्नुभयो ।

यो उपन्यास नेपालमा सहकारीको सुरुवात गरेका र मन्त्रीसमेत भएका बखान सिंह गुरुङको जीवनीमा आधारित छ । जीवनभर अनेक दुःखकष्ट सहेर भूमिगत जीवन बिताएका गुरुङको सङ्घर्षमय क्षणहरुको रोचक चित्रणले उपन्यासलाई जीवन्त बनाएको डा. निखिलले बताउनुभयो । यो उपन्यास इतिहास, राजनीति, संस्कृति र विकासका आयामहरुलाई समेटेर चितवनको सर्वाङ्गीण परिचय गराउने एउटा महत्वपूर्ण र सशक्त दस्तावेज भएको उहाँको भनाइ छ ।

लेखकले उपन्यास लेखेर आफ्नो मातृभूमिप्रतिको ऋण चुक्ता गरेको कुरा उहाँले औँल्याउनु भयो । सरल र वर्णनात्मक तथा विवरणात्मक भाषाको प्रयोगसँगै उपन्यासमा कथा कथनका लागि प्रभावकारी शैलीको प्रयोग गरिएको छ । इतिहासले बिर्सन लागेको एक जना पात्रलाई लेखकले सदा सदाका लागि अमर बनाएको डा. निखिलको भनाइ छ ।

डा. निखिलले उपन्यासमा भएका केहि कमी कमजोरीहरु पनि औँल्याउनु भएको थियो । उहाँका अनुसार कतिपय स्थानमा वर्णविन्यास र कतिपय स्थानमा तथ्यगत सामान्य त्रुटिहरु रहेका छन् । भाषिक सरलता उपन्यासको गुण र दोष दुबै बनेको उहाँको भनाइ छ । बखान सिंह गुरुङ चितवनमा बस्ती बसाउन अगुवाई गर्ने तथा चितवनमा नेपालकै पहिलो सहकारी बखान ऋण सहकारी संस्था स्थापना गर्ने व्यक्ति हुन् । उनी विसं २००७ सालका जनक्रान्तिका एक योद्धा पनि हुन् । उनी शाही सेनाका क्याप्टेन पद छोडेर राणा बिरोधी क्रान्तिमा होमिएका थिए ।

‘बखान’ पत्रकार पराजुलीको तेस्रो कृति हो । यसअघि उहाँको विसं २०७६ सालमा ‘कुमाता’ कथा सङ्ग्रह र २०७८ सालमा ‘मोम्चो’ प्रकाशन भइसकेको छ । उहाँ अहिले नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हुनुहुन्छ । ‘बखान’ उपन्यास गत साउनमा प्रकाशन भएको हो । उपन्यासकार एवम् पत्रकार पराजुली २०७६ सालको चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार, २०७७ सालको हाम्रो मझेरी साहित्य प्रतिष्ठान स्रष्टा सम्मान र २०७७ सालकै राउण्ड टेबल गसिप हेटौंडा सम्मानबाट सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको प्रमुख आतिथ्यमा भएको परिचर्चा कार्यक्रममा चितवन घर भई मकवानपुरमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी तहका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।