हेटौँडा : हेटौँडा–१५, रातोमाटेबाट प्रतिवन्धित लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान साढे ९ बजे २ जनालाई र राती ९ बजेर १० मिनेटको समयमा ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार बिहान ९ बजेर ५० मिनेटको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले जितपुर–सिमरा हुँदै हेटौँडातर्फ आउँदै गरेको म प्र ०३–०३१ प ६९९० नम्बरको मोटरसाइकल रोकेर सुरक्षाजाँच गर्दा लागूऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको हो । लागूऔषधसहित मोटरसाइकल चालक पर्सा जिल्लाको वीरगंज महानगरपालिका–३१ का २१ वर्षीय शिव पासवान र पछाडि सवार २३ वर्षीय निरज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूले जुत्ताभित्र लुकाएर ल्याएको अवस्थामा १ सय ६० मिलिग्राम खैरो हेरोइन फेला परेको जनाएको छ । प्रहरीले लागूऔषध, मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यस्तै बिहीबार राती ९ बजेर १० मिनेटको समयमा हेटौँडा–१५, रातोमाटेबाटै ३ जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको छ । वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ज ७९८३ नम्बरको यात्रुबाहक भ्यानमा सवार चितवन जिल्लाको राप्ती नगरपालिका–८ का २८ वर्षीय कर्ण गुरुङको साथबाट लागू औषध खैरो हेरोइन १ ग्राम ६२० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ । यस्तै बागमती प्रदेश ०६–००१ ज ०४४१ नम्बरको यात्रुबाहक भ्यानमा सवार हेटौँडा–१२ का २७ वर्षीय सन्तोष आलेमगर र मनहरी गाउँपालिका–३ का ३० वर्षीय सानुकान्छा राईको साथबाट लागूऔषध खैरो हेरोइन ४८० मिलिग्राम बरामद भएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।











