स्वयम्सेविका मनसानि थोकरलाई सम्मान गरिँदैको तस्वीर ।

हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिकाले ‘स्वस्थ समुदायको निर्माण, महिला समुदायिक स्वास्थ्य स्वयम्सेविकाको योगदान’ भन्ने नाराका साथ २२ औँ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस मनाएको छ । शुक्रबार दिवसका अवसरमा पालिकाले ३१ वर्षदेखि सेवा प्रदान गर्दै आउनुभएका मनसानी थोकरलाई दीर्घसेवा सम्मान गर्दै बिदाइ गरेको छ ।

मनसानीले २०५१ सालदेखि साविक कालिकाटार गाविस लिक्चे कार्यक्षेत्रमा आफ्नो सेवा प्रवाह गर्दै आइरहनुभएको थियो । उमेर हदका कारण बिदाइ हुनुभएकी उहाँलाई दिवसको अवसरमा १० हजार नगदसहित सम्मान गरिएको हो । यस्तै, उत्कृष्ट सेवा प्रवाह गर्ने तीन जना स्वयम्सेविकालाई पुरस्कृत गरिएको छ । कैलाश–३ की सरस्वती सुनार, कैलाश–८ की सुकुमाया मोक्तान र कैलाश–५ की सुनितामाया थिङलाई क्रमशः प्रथम, द्वितीय र तृतीय घोषणा गरी विभिन्न सामग्रीका साथ प्रमाणपत्र प्रदान गरिएको थियो ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा कार्यक्रम भएको थियो । अध्यक्ष मुक्तानले स्वास्थ्य क्षेत्रमा स्वयम्सेविकाको अग्रणी भूमिका रहेको बताउनुभएको छ । कैलाशमा होम डेलीभरीलाई शून्यतर्फ लैजानको लागि स्वास्थ्य स्वयम्सेविकाले महत्वपूर्ण भूमिका खेल्नुभएको भन्दै उहाँले आभार व्यक्त गर्नुभयो ।

स्वयम्सेविकालाई राज्यले तोकेको सुविधामा गाउँपालिकाले गत वर्षसम्म थप एक हजार र चालु आर्थिक वर्षदेखि पाँच सय भत्तामा वृद्धि गरेको उहाँले बताउनुभयो । स्वास्थ्य र शिक्षामा विभिन्न काम गरिरहेको बताउँदै आगामी दिनमा पनि सरकार र साझेदार संस्थासँगको साझेदारीमा पनि काम गरिने प्रतिवद्धता उहाँले ब्यक्त गर्नुभयो ।

निस्वार्थरुपमा जुनसुकै अवस्थामा पनि सेवा दिँदै आएका स्वयम्सेविकाको भूमिका उल्लेख्य रहेको वडा नम्बर ७ का वडाध्यक्ष उदासकुमार भुलुनले बताउनुभयो । ‘उहाँहरुको भूमिकामा हामी सन्तुष्ट रहेका छौं’, वडाध्यक्ष भुलुनले भन्नुभयो– ‘यहाँको योगदानप्रति धन्यवादले मात्रै पुग्दैन, त्यसमा हामी ऋणी छौँ ।’

कार्यक्रममा स्वयम्सेविका सरिता मुक्तानले काम धेरै, सम्मान कम हुने पेशा अंगालेको बताउनुभयो । ‘पहिले गोष्ठी, तालिमहरु प्रशस्तै आउँथ्यो, अहिले हराउँदै गएको छ’, उहाँले भन्नुभयो– समय अनुसार तालिमको आवश्यकता रहेको छ ।’ आफूहरु गाउँघर समुदायको पहिलो डाक्टर भएकाले सोही अनुरुप सीप र ज्ञान अपगे्रड रहनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र शिवकोटी, नेपाल ग्रामीण पुनर्निमाण संस्थाका कार्यक्रम संयोजक लिलबहादुर कार्की, सांग्रीला डेभलपमेन्ट एशोसिएसनका सोनी मल्लिक, स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमलगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा प्रेम सेवा समाजका सचिव रामसिं प्रजा, बाल विकास कार्यक्रम नेपालका निराजन प्रजा, गाउँपालिकाका वडाका स्वास्थ्य ईन्चार्जहरुको आतिथ्य रहेको थियो । १० वटा वडा रहेको गाउँपालिकामा हाल ४२ जना स्वास्थ्य स्वयमसेविकाहरु कार्यरत रहेको स्वास्थ्य शाखा प्रमुख गौतमले बताउनुभयो ।