विद्यार्थीलाई न्यानो कपडा वितरणपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले हेटौँडा–१, नकौलीस्थित कालिका आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा स्वीटर वितरण गरेको छ । शुक्रबार विद्यालयमै पुगेर दुई सय २५ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो ।

कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरका अध्यक्ष दिपेन्द्र बानियाँको अध्यक्षता तथा संघका पूर्वअध्यक्ष समीरलाल डंगोलको प्रमुख आतिथ्यमा न्यानो पोशाक वितरण कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर पाख्रिनको पनि आतिथ्य रहेको थियो । शिक्षक माया भट्टले विद्यार्थीका लागि न्यानो कपडा सहयोग माग गर्नुभएसँगै संघले सहयोगको प्रयास गरेको हो । विद्यार्थीलाई वितरण गर्ने स्वीटर हेटौँडा–४ स्थित सम्पूर्ण सप्लायर्स र कालिका होजियारीले प्रदान गरेको अध्यक्ष बानियाँले बताउनुभयो ।