हेटौँडा : मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बसन्त अधिकारीले हेटौँडा बजार क्षेत्रको सडक विस्तारको काम नरोकिने बताउनुभएको छ । उहाँले सर्वोच्च अदालतबाट कुनैपनि आदेश कार्यालयलाई प्राप्त नभएकोले सडक विस्तारको काम अघि बढ्ने बताउनुभएको हो ।
सर्वोच्च अदालतबाट ६ जनाको हकमा अन्तरिम आदेश जारी भएको चर्चाका बीच सरोकारवाला निकायले भने आधिकारिक बाटोबाट पत्र नआएकाले भोलि (शनिबार) पनि संरचना हटाउने कामलाई अघि बढाउने उहाँले बताउनुभयो । अदालतको आदेश जिल्ला अदालत हुँदै आधिकारिक रुपमा कार्यालयमा दर्ता नभएसम्म कसैले कागज हल्लाउँदै वा ह्वाट्सएपमा पठाउँदैमा अभियान नरोकिने उहाँको भनाई छ । शुक्रबार कार्यालय समयसम्म कुनै पनि ‘स्टे अर्डर’ प्राप्त नभएकाले भोलि शनिबार १० देखि १२ वटा टोली परिचालन गरिने उहाँले बताउनुभयो ।
‘सर्वोच्चको आदेश ६ जना निवेदकको हकमा मात्र आएको बुझिए पनि आधिकारिक पत्र नआएसम्म हामीलाई कसैले रोक्दैन ।’ उहाँले भन्नुभयो, ‘उच्च अदालतको हकमा भने कारण देखाऊ आदेश मात्र भएकाले काम रोक्नुपर्ने अवस्था छैन । प्राप्त जानकारी अनुसार सर्वोच्च अदालतले ६ जना निवेदकको सन्दर्भमा मात्र अन्तरिम आदेश दिएको बुझिएको छ । यद्यपि, सो पत्र आधिकारिक रुपमा प्राप्त नभएकाले भोलिको अभियानमा कुनै बाधा पर्ने छैन ।
भोलि (शनिबार) बिहानैदेखि १० देखि १२ वटा टोली परिचालन गरी रातोमाटे, बुद्धचोक, बाइपास, राप्ती र उद्योग वाणिज्य संघ आसपासका क्षेत्रमा अभियान केन्द्रित हुने उहाँले बताउनुभयो । प्रजिअ अधिकारीका अनुसार तत्कालै घर नै भत्काउनुको साटो व्यापार व्यवसाय सञ्चालन गर्न नमिल्ने गरी सटर र बोर्डहरु निकालिने छ । ‘भोलि हाम्रो टोलीलाई रोक्ने आधिकारिक आधार छैन, त्यसैले तोकिएका क्षेत्रमा संरचना हटाउने काम निरन्तर चल्नेछ । आइतबार यदि आधिकारिक पत्र आएको खण्डमा भने अदालतले तोकेका ६ जना व्यक्तिको हकमा मात्र विचार गरिने र बाँकीको हकमा अभियान जारी रहने बताइएको छ ।’ उहाँले भन्नुभयो ।
हेटौँडा बजार क्षेत्रभित्रको सडक भत्काउने सूचनापछि सो विरुद्ध मंसिर १६ मा सर्वोच्च अदालतमा मुद्दा दायर समेत भएको थियो । उक्त रिटमाथि शुक्रबार अल्पकालिन अन्तरिम आदेश जारी समेत गरेको छ । साथै, मंसिर २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । यता सडक डिभिजन कार्यालय हेटौँडाले पनि सूचना जारी गर्दै सडक विस्तारको कार्य निरन्तर अघि बढाउने जनाएको छ । शुक्रबार सूचना प्रकाशित गर्दै कार्यालयले पूर्व निर्धारित योजना अनुसार नै सडक विस्तार अभियान सुरु गर्न लागेको जानकारी दिएको हो ।
सडक डिभिजन हेटौंडाले यसअघि मंसिर ५ गते सडक विस्तारका लागि सडक सिमा क्षेत्र खाली गर्ने १५ दिने म्याद सहितको सूचना जारी गरेको थियो । कार्यालयका अनुसार उक्त सूचना बमोजिम आज (१९ गते) कार्यालय समयभित्र कुनै पनि आधिकारिक निकायबाट सडक विस्तार कार्यलाई रोक्न भन्दै कुनै जानकारी वा निर्देशन प्राप्त भएन ।
काम रोक्नका लागि कुनै आधिकारिक पत्र प्राप्त नभएपछि कार्यालयले भोलि २० गतेबाट सडक विस्तार कार्यलाई निरन्तर अघि बढाउने निर्णय गरेको छ । सडक डिभिजन हेटौँडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा ७५/७५ फिट (२५/२५ गज) विस्तारको तयारी गरेको छ ।
कार्यालयको तथ्याङ्क अनुसार बजार क्षेत्रको ९.५ किलोमिटर क्षेत्रभित्र मात्रै ५३१ वटा संरचना भत्काउनु पर्नेछ । यो रातोमाटेदेखि बुद्धचोक हुँदै राप्तीपुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म क्षेत्रभित्रको संरचना हो । यसमध्ये सडकको केन्द्रबिन्दुबाट दायाँतर्फ २३४ वटा र बायाँतर्फ २९७ वटा संरचना भत्काउनुपर्ने देखिएको डिभिजनले जनाएको छ ।











