नृत्य प्रतियोगितामा उत्कृष्ट तीन घोषित विद्यार्थीलाई पुरस्कृत गरिएपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) हेटौँडा उपमहानगर समितिको आयोजनामा शनिबार प्राथमिक तह स्तरीय बालगीतमा नृत्य प्रतियोगिता भएको छ । प्याव्सन मकवानपुर जिल्ला समितिको समन्वयमा हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल स्कुलको हलमा भएको प्रतियोगितामा उत्कृष्ट तीनलाई पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा मकवानपुरका २६ विद्यालयका ४२ जना बालबालिका सहभागी थिए । प्रतियोगितामा सनसाइन इंग्लिस बोर्डिङ स्कूलकी मारिना अधिकारी, सोलिड्यारिटी इन्टरनेशनल स्कूलकी सुपेक्षा राना मगर र सत्यम जेभियर्स स्कूलकी सिम्रन कोइराला उत्कृष्ट तीन घोषित भए । प्रतियोगितामा उत्कृष्ट तीन विद्यार्थीले जनही ३ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । आयोजकले प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई उपहार स्वरुप शैक्षिक सामग्री समेत प्रदान गरेको छ ।

प्याव्सन हेटौँडा उपमहानगर समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षता तथा प्याव्सन मकवानपुर जिल्ला समितिका सल्लाहकार मदनकुमार दाहालको प्रमुख आतिथ्यमा प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम भएको छ । विद्यार्थीको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको प्याव्सन हेटौँडा उपमहानगर समितिका सचिव सुदीप राज गिरीले जानकारी दिनुभएको छ ।