जिल्ला खेलकुद विकास समिति

हेटौंडा : हेटौंडा–४, हुप्रचौरस्थित मकवानपुर जिल्ला खेलकुद विकास समितिको भवन मर्मत कार्य भइरहेको छ । निर्माणका लागि आवश्यक पर्ने गिट्टी, बालुवा, सिमेन्टलगायतका सामग्रीको भुक्तानी गर्ने स्रोतको अभावमा काम गर्ने कामदारहरुले विश्वासको भरमा उधारोमा काम गरिरहेको मकवानपुर खेलकुद विकास समितिका अध्यक्ष राजुकमार तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार स्थानीय र प्रदेश सरकारले पुस मसान्तमा यसका लागि बजेट विनियोजन गर्ने बताएको छ । अहिले उधारोमा काम भइरहेको र पछि सरसहयोग प्राप्त भएपछि खर्च भुक्तानी गर्ने अध्यक्ष तामाङको भनाइ छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलमा जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आगजानी र तोडफोड हुँदा करिब ९५ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

भदौ २४ गतेको प्रदर्शनका क्रममा आगजनीबाट कार्यालय भवनमा रहेका ५२ थान प्लास्टिकका कुर्सी, ३ थान फलामका कुर्सी, ४ थान काठका टेबल, २ थान प्लास्टिकका टेबल र सम्पूर्ण विद्युतीय तारहरू पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । कार्यालयको एक थान कम्प्युटर, ना १२ प ४४६८ नम्बरको सरकारी मोटरसाइकल, ४९ थान फुटबल र ४ थान नेट, ४९ थान भलिबल र ४ थान नेट, १३ थान क्रिकेट बल, १ सेट क्रिकेट म्याट, ३० थान बेड म्याट, ६० सेट सिरक डसना, २० वटा एथलेटिक्स सामग्री र भाला, ४० वटा हक्की स्टिक र २० वटा बल, २ वटा किपर सेट, १२० थान हक्की साइडबोर्ड लगायतका सामग्री, कागजात र कार्यालयका सम्पूर्ण झ्याल ढोकाहरूमा क्षति पुगेको थियो । जसका कारण यस वर्षको दशैं र तिहार बिदामा कुनै पनि खेलकुद गतिविधि हुन नसकेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।