दलित महिलालाई अनुदान रकम हस्तान्तरण गरिँदै ।

हेटौँडा:दलित महिला संघ (फेडो) मकवानपुरले दलित महिला समूहलाई अनुदानमा बीउ पुँजी वितरण गरेको छ । बिहीबार हेटौँडामा एक कार्यक्रमको आयोजना गर्दै फेडोले हेटौँडा आसपास क्षेत्रका २२ वटा दलित महिलाहरुको समूहलाई बीउ पुँजी प्रदान गरेको हो ।

संघले दलित महिलाहरुलाई आर्थिक रुपमा पिछडिएका तथा अर्थोपार्जनका लागि पुँजीको अभाव खेपिरहेका समूह निर्माण गर्दै अनुदान प्रदान गर्दै आइरहेको जनाएको छ । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका क्षेत्रका २० वटा, मनहरी गाँउपालिकाको १ र भिमफेदी गाउपालिकाको १ दलित महिला समूहलाई अनुदान मिलन कोष मार्फत २५ हजार र बिउपुँजी उद्यमशील कोष मार्फत समूह वा सदस्यहरुलाई ६० हजार रुपैयाँ अनुदान प्रदान गरिएको छ । कार्यक्रममा हेटौँडाका वडा नं ३, ६, ९, ११ र १५ मा रहेका ५ वटा समूहहरुलाई बीउ पूँजी उद्यमशील कोष मार्फत ६० हजार रुपैयाँको दरले अनुदान रकम प्रदान गरिएको छ भने बाँकी १७ वटा समूहहरुलाई २५ हजारको दरले अनुदान प्रदान गरिएको कार्यक्रममा जनाइएको छ ।

बिगत तीन वर्षदेखि समूहहरुलाई यस्तै किसिमका अनुदान प्रदान गर्दै आइरहेकोमा बुधबार बकैया गाउँपालिकामा कार्यक्रम आयोजना गरी पालिकाभित्र रहेका ५ वटा दलित महिला समूहका ८ जना सदस्यहरुलाई पनि अनुदान वितरण गरिएको थियो । बकैयामा ५ समूहका ५ सदस्यहरुलाई जनही ६० हजार रुपैयाँका दरले र बाँकी ३ जना सदस्यलाई २५ हजार रुपैयाँका दरले अुनदान वितरण गरिएको छ । यसअघि प्रदान गरिएका अनुदानबाट सिलाइ कटाइ लगायतका विभिन्न घरेलु तथा साना आयआर्जनमा लगानी गरिएका फेडो मकवानपुरले जनाएको छ ।

यसपटक पनि ती समुहका सदस्यहरुको आवश्यकता अनुसारको अनुदान प्रदान गरिएको दलित महिला संघ मकवानपुरकी उपाध्यक्ष सुनिता दर्नालले बताउनुभयो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य इश्वरी रसाइली लगायत वडा सदस्यहरुको र समुहहरुका सदस्यहरुको सहभागिता थियो ।