हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिकाका कक्षा १ देखि ३ सम्म अध्यापन गराउने शिक्षकहरुलाई दिइएको एकीकृत पाठ्यक्रमसम्बन्धी कस्टमाइज्ड तालिम समापन भएको छ । शुक्रबारबाट सुरु भएको तालिम पाँच दिनसम्म सञ्चालन भएर मंगलबार सम्पन्न भएको हो ।

कैलाश–९ स्थित कालिका माविमा तालिम सञ्चालन गरिएको थियो । ९ नम्बर वडाध्यक्ष भुवन सिंह घलानको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यमा तालिमको समापन गरिएको छ ।

तालिममा सहभागी शिक्षकलाई प्रमाणपत्र प्रदान गर्दै तालिमबाट सिकेका सीप र ज्ञानलाई विद्यालय र विद्यार्थीसमक्ष पुर्‍याउन अध्यक्ष मुक्तानले निर्देशन दिनुभएको छ । शिक्षकहरुमा पनि समय समयमा ज्ञान, सीप प्रदान गरे शिक्षामा सुधार हुने उहाँले बताउनुभयो । ‘सिकेको सीप र ज्ञान कार्यान्वयन गर्नुस्, अनिमात्र विद्यार्थी र शिक्षकहरुको पनि व्यवहारमा सुधार रहनेछ’, उहाँले भन्नुभयो । तालिम उर्जा भएकाले तालिमपश्चात् उर्जावान भएर विद्यालय फर्कन उहाँले सहभागीलाई अनुरोध गर्नुभएको छ ।

कानुन र अधिकार बाझिएकाले शिक्षा नीति र ऐनमा केही समस्याहरु रहेको भन्दै अध्यक्ष मुक्तानले त्यसलाई विस्तारै समाधान गर्दै जानुपर्ने बताउनुभयो । यहाँको विद्यालय, विद्यार्थी र समुदाय जस्तो छ सोहीअनुरुप शिक्षण पेशालाई अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।

९ नम्बर वडा अध्यक्ष घलानले सिकेको सीपलाई जतिसक्दो कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । प्रतिकूल अवस्थामा पनि शिक्षकहरुले अनुकूल भएर काम गर्नुपर्ने भन्दै अनुगमनमा जाँदा तालिम प्रभावकारी भएको देखिनुपर्ने वडा अध्यक्ष घलानले बताउनुभयो । उहाँले विद्यार्थीको भविष्य शिक्षकहरुको हातमा रहेकाले तालिममा सिकेको ज्ञान र सीप कक्षाकोठामा प्रयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समिर जोशीले तालिमपश्चात् विद्यालयमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । तालिमपछि ज्ञान र सीप विद्यालयमा देखिनुपर्ने र विद्यार्थीले पनि अनुभव गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । शिक्षक अनिल धमला र धनकुमारी जोशीले तालिमको अनुभव र सिकेको सीप उपलब्धीमूलक रहेकोले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

तालिममा गाउँपालिकाका ६ वटा मावि, ४ वटा निमावि र ३३ वटा प्राविका शिक्षकहरुको सहभागिता रहेको सहायक विद्यालय निरीक्षक दीपेन्द्र अधिकारीले बताउनुभयो । तालिममा सविता अधिकारी, विवशजङ्ग थापा र सरस्वती अधिकारीले एकीकृत पाठ्यक्रमसम्बन्धी सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा कालिका माविका प्रधानाध्यापक रामप्रसाद कालाखेती, स्रोत शिक्षक ध्रुवराज विष्टलगायतको आतिथ्य रहेको थियो ।