हेटौँडा: हेटौँडाको सडक विस्तार गर्न हेभी इक्विप्मेन्ट डिभिजन हेटौँडा तयारी अवस्थामा रहेको बताइएको छ । डिभिजन सडक कार्यालयले सडक विस्तार गर्न सडकको क्षेत्राधिकारभित्र रहेका भौतिक संरचना हटाउन १५ दिने सूचना जारी गरेसँगै हेभि इक्विप्मेन्ट डिभिजन तयारी अवस्था रहेको बताइएको छ ।
घर भत्काउने र सडक निर्माणलगायतका कार्यका लागि आवश्यक पर्ने मेशिनरी र गाडीहरु आफूहरुसँग पर्याप्त मात्रामा रहेको हेभी इक्विप्मेन्ट डिभिजन हेटौँडाका सूचना अधिकारी बरुणकुमार साहले जानकारी दिनुभयो । पछिल्लो समय हेटौँडाको मुख्य बजार क्षेत्र भएर जाने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको विस्तारको चर्चाले बजार तातेको छ । सडक डिभिजन कार्यालय हेटौँडाले शुक्रबार सडक सीमा खाली गर्न १५ दिनको म्याद दिएर सूचना जारी गरेको छ ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडकको केन्द्रबाट दायाँ–बायाँ २५–२५ गज (करिब २२.८६ मिटर) भित्रका सम्पूर्ण स्थायी र अस्थायी संरचना हटाउन १५ दिनको समयसीमा दिएको छ । तोकिएको समयभित्र नहटाएमा कार्यालय आफैंले भत्काउने र त्यसको सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाटै असुलउपर गर्ने चेतावनीसमेत सडक डिभिजनले दिएको छ ।
हेभी इक्विपमेन्ट डिभिजन हेटौंडासँग भएका लम्बुङ एक्साभेटर, ह्विल एक्साभेटर, लोडर, जेसिबी, टिपर, ट्रकलगायतका गाडीहरु तयारी अवस्थामा रहेको र कार्यालयले जुनसुकै बेला पनि प्रयोग गर्न सक्ने सूचना अधिकारी साहको भनाइ छ । थप उपकरण आवश्यक परेमा काठमाडौंबाट पनि मगाउन सक्ने उहाँले जानकारी दिनुभयो । सडक डिभिजनलाई निजी कम्पनीहरुको भर पर्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।
सडक विस्तारको विषयलाई लिएर हेटौँडावासीको भने मिश्रित प्रतिक्रिया छ । सडक विस्तार गर्ने सरकारी योजनामा अधिकांश सकारात्मक छन् । तर, केहीले घर, जग्गाको मुआब्जा बिना सरकारले सडक विस्तारको प्रयास गर्नु गलत हुने भन्दै आलोचना गरेका छन् । सडक विस्तारको योजनाबाट प्रभावित हुनेहरु नै सडक विस्तारको विपक्षमा नभएको बरु मुआब्जा दिएर सडक विस्तार गर्न माग गर्दै आएका छन् । लामो समयदेखि सडक विस्तारको प्रयास हुने र रोकिने क्रम चलिरहँदा यस पटक पनि सडक विस्तारको कार्य अगाडि नबढ्ने आशंका समेत भइरहेको छ । तर, हेभी इक्विप्मेन्ट डिभिजन भने तयारी अवस्थामा छ ।











