हेटौँडा : मकवानपुरगढी–५ स्थित शारदा माविको स्वर्ण महोत्सव आइतबार सम्पन्न भएको छ । बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा समापन समारोह भएको हो । समापन समारोहलाई सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री एवम् बागमती प्रदेशसभा सदस्य मोक्तानले प्रदेश तथा स्थानीय सरकारले भौतिक संरचना विकासलाई पछाडि सारेर भएपनि शिक्षाको विकासलाई महत्व दिनुपर्ने बताउनुभयो ।
उहाँले पूर्वाधार विकासमा केही समय सम्झौता गर्न सकिने तर शिक्षा जस्तो संवेदनशील विषयमा सम्झौता गर्न नहुने बताउनुहुँदै विद्यालय विकासमा प्रत्येक तहका सरकारहरुले लगानी गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्नुहुँदै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले शारदा माविको पछिल्लो एसइइ नतिजाको स्मरण गर्नुभयो । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरुले पनि उत्कृष्ट नतिजा ल्याउनु सकारात्मक रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले मनैदेखि चाहेर सबैले साथ मिहिनेत गर्दा ग्रामीण भेगको सामुदायिक विद्यालयले पनि राम्रो नतिजा ल्याउन सक्ने उदाहरण शारदा माविले दिएको बताउनुहुँदै सामुदायिक विद्यालयहरुलाई अझै परिष्कृत र व्यवस्थित बनाउँदै लैजानुपर्ने बताउनुभयो ।
कार्यक्रममा एसएलसी/एसईई उत्तीर्ण गरेर विद्यावारिधी तहको अध्ययन पूरा गर्नुभएका कृष्ण धिताल, श्याम छत्कुली र सुमार्गी हुमागाईलाई सम्मान गरिएको थियो । यस्तै विद्यालयलाई विभिन्न आर्थिक तथा जिन्सी सहयोग पुर्याउने र विभिन्न पक्षबाट सहयोग पुर्याउने व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरुमा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालयको इतिहास र वर्तमान अवस्था झल्कने वृत्तचित्र प्रस्तुत गरिएको थियो । विद्यालयका पुराना सम्झनाका वस्तु तथा तस्विरहरु प्रदर्शनमा राखिएको थियो । यस्तै कार्यक्रममा स्वर्ण महोत्सवको अवसरमा प्रकाशित शारदा स्वर्ण स्मारिका २०८२ को विमोचन पनि गरिएको थियो । महोत्सवको अवसरमा आयोजित शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतन हेटौँडाले जितेको छ भने आयोजक शारदा मावि दोस्रो भएको छ । विजेता विद्यालयले ५० हजार नगदसहित शिल्ड, प्रमाणपत्र प्राप्त गरेको छ ।
२०२५ सालदेखि अनौपचारिक तथा निजीस्रोतबाट शुरु भएको विद्यालय २०३२ सालपछि शारदा मावि नामाकरण भई हाल कक्षा १२ सम्म पठनपाठन भइरहेको छ । विद्यालयमा ५ सय १४ जना विद्यार्थी अध्ययनरत छन् भने शिक्षक तथा कर्मचारी गरी ४० जना कार्यरत रहेको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, पूर्व अध्यक्ष विदुर हुमागाई, वडा अध्यक्ष दिपेश दाहाल, विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर कार्की, छिमेकी विद्यालयका प्रधानाध्यापक तथा शिक्षकको पनि सहभागिता रहेको थियो ।











