छापा पत्रकारिता र छापा माध्यमको आफ्नै विशेषता छ, गुण छ । छापा माध्यमको ६ सय वर्ष भन्दा लामो इतिहास छ । सूचना प्रविधिको क्षेत्रमा भएको विकासले छापा माध्यमलाई चुनौति दिएको छ । सूचना प्रविधिको विकाससँगै आम पाठक माझ छापा माध्यमप्रति विकसित हुँदै गएको नकारात्मक धारणा अझ बढी चुनौतिपूर्ण छ । हात–हातमा भएको मोवाइलले छिटो छिटो सूचना दिने अवस्थाले हरेक दिन प्रकाशित हुने दैनिक समाचारपत्रप्रति आम पाठकको ध्यान कमजोर हुनु स्वभाविक जस्तो लाग्छ । तर, सञ्चार तथा सूचना प्रविधिमा आम मानिसको पहुँच विस्तार भए पनि आम मानिससम्म पु¥याउनुपर्ने सूचनाको निर्माण र प्रस्तुती भने आम मानिसको ज्ञान, सीप, दक्षताको विषय होइन ।

पत्रकारिता आम समाजलाई हेर्ने, बुझ्ने सशक्त माध्यम हो । आमसञ्चारका माध्यमको विकासले आमसञ्चारको प्रक्रियालाई सहज बनाएको छ, आम मानिसले सहजै सूचनाको पहुँच स्थापित गर्न सम्भव भएको छ । तर, प्रविधिको विकास र विस्तारसँगै यसको उपयोग गर्ने विषयमा आमरुपमा जिम्मेवारीबोध हुन नसक्नु दुखद् पक्ष हो । अझ हाम्रो जस्तो कमजोर राज्य व्यवस्थामा सञ्चार तथा सूचना प्रविधिमा भएको व्यापक विस्तार प्रत्युत्पादक हुने खतरा छ । आज आम मानिसहरु सामाजिक सञ्जालमा भाइरल हुने चक्करमा छन् । सामाजिक सञ्जालमा भाइरल भएका विषय नै सत्य हो भन्ने भ्रममा छन् ।

सूचना र सञ्चारको क्षेत्रमा मूलतः छापा पत्रकारिताको अभ्यास विशेष छ । छापा पत्रकारिताले दैनिक घटना र गतिविधिलाई धैर्यताका साथ हेरेर, बुझेर, अध्ययन, मनन् गरेर आम नागरिकलाई समाचार र विचारको ढाँचामा प्रस्तुत गर्दै गर्दा प्राप्त हुन सक्ने सकारात्मक र नकारात्मक दुवै पक्षलाई विश्लेषण गर्ने गरेको छ । छापा पत्रकारिताको अभ्यासको इतिहास र आज पनि करिब करिब उत्तिकै संवेदनशीलता बहन गरिएको छ । संवाददाताले तयार पारेको सामग्रीलाई विभिन्न चरणमा अध्ययन, विश्लेषण, सम्पादन गरेर मात्रै आम मानिससम्म पुर्‍याइन्छ । सामाजिक र सार्वजनिक संवेदनशीलतालाई हेरेर कतिपय सूचनालाई सार्वजनिक नगर्नुपर्ने अवस्थालाई पनि छापा माध्यमले आफ्नो जिम्मेवारी ठान्ने गरेको छ । तर, आज सामाजिक सञ्जालको छोटा वाक्य, दृश्यले संवेदनशीलता भन्दा पनि व्यापकता प्राप्त गर्ने लोभबाट सिंगो समाज आक्रान्त छ ।

यस्तो सन्दर्भमा छापा माध्यमसँग टाढिएका समुदायलाई जिम्मेवार पाठकको रुपमा पुनस्र्थापित गर्नुपर्ने जिम्मेवारी हामी माझ छ । छापा माध्यमले दैनिकरुपमा प्रदान गर्ने समाचार र विचार ढिलो नभई पूर्ण र परिपक्व छ भन्ने बुझाउने प्रयास हाम्रो हो भने सही सूचना दैनिकरुपमा प्राप्त गर्नु स्वभाविक र प्रभावकारी हुन्छ भन्ने आम समुदायले बुझ्नु जरुरी छ । छापा माध्यमले पठन संस्कृतिको विकासमा योगदान पु¥याउँछ । समाचारपत्र पढिने परिवारमा पठन संस्कृतिको विकास हुन्छ । नयाँ पुस्ताले पनि पठन संस्कृतिलाई आत्मसाथ गर्ने आधार तयार हुन्छ भन्ने बुझ्नु आम समुदायको जिम्मेवारी हो । यसर्थ पठन संस्कृतिको विकास गर्दै सही र वास्तविक सूचनाको उपभोग गर्नेतर्फ आम समुदायको ध्यानाकर्षण हुनेछ भन्ने विश्वास हामीले लिएका छौं । साथै हामी आम समुदायलाई समाचारपत्रको महत्व र प्रभावकारिता बुझाउने गरी हाम्रो क्रियाशीलता बढाउने सन्दर्भमा पनि सचेत रहनेछौं ।