![covid-32](https://samriddhasamaj.com/wp-content/uploads/2020/08/covid-32-696x422.jpg)
हेटौंडाः जिल्ला सुरक्षा समिति मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरक्षेत्र र हेटौंडा उपमहानगरसँग सीमा जोडिएको छिमेकी मनहरी गाउँपालिकामा पूर्वपश्चिम राजमार्गको दायाँबायाँ पाँच पाँच सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । आज बिहान जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको सिफारिसअनुसार आगामी भदौ ९ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका संयोजक दीपकराज नेपालले जानकारी दिनुभएको छ ।
सुरक्षा समितिले अत्यावश्यक सेवाबाहेक खाद्यान्न वस्तु खरिद विक्रीका लागि बिहान ५ बजेदेखि ८ बजेसम्म समय निर्धारण गर्ने निर्णय गरेको छ । यसअघि बिहान ५ बजेदेखि ९ बजेसम्म खाद्यान्न खरिद विक्री गर्न दिने निर्णय गरिएको थियो । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस सङ्क्रमतिको संख्या बढ्दै गएसँगै जिल्ला सुरक्षा समितिले गत साउन २६ गते राती १२ बजेदेखि साउन ३२ गते अर्थात आज राती १२ बजेसम्मका लागि हेटौंडा उपमहानगरपालिका क्षेत्र र हेटौंडा उपमहानगरपालिकासँग जोडिएको मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रको दायाँ बायाँ पाँच पाँच सय मिटर क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो ।