हेटौंडाः मकवानपुर जिल्लामा कोरोना भाइरस सङ्क्रमितको संख्या दिनहूँ बढ्दो क्रममा छ । कोरोना भाइरस सङ्क्रमितको संख्या बढेसँगै स्थानीय प्रशासनले साउन २६ गते राती १२ बजेदेखि लागू गरेको निषेधाज्ञा आगामी भदौ ९ गतेसम्म जारी राख्ने निर्णय गरिसकेको छ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस जिल्लामा पनि व्यापक भइसकेको सङ्केत दिने गरी दैनिकजसो सङ्क्रमितको संख्या बढे पनि कोरोना भाइरससम्बन्धी तथ्याङ्क व्यवस्थापनमा भने सरोकारवाला कसैको ध्यान जान सकेको छैन ।

कोरोना सङ्क्रमणको आशंका नगरिएका बेलासम्म अर्थात साउनको तेस्रो सातासम्म हेटौंडास्थित आइसोलेसन वार्डबाटै दैनिक थोरै संख्यामा नमूना परीक्षणका लागि हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापना गरिएको प्रयोगशालामा पठाउँदासम्म परीक्षणका लागि पठाइएका नमूना, परीक्षण गरिएका मध्ये कोरोना सङ्क्रमण देखिएका नमूनाको संख्याको गणनाको विषय ध्यान दिनेतर्फ कसैले चासो नै राखेको थिएन । अहिले दैनिक एक सय भन्दा बढी स्वाब नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइने गरेको छ । हेटौंडास्थित आइसोलेसन वार्डबाट मात्रै नभई थाहा नगरपालिका, मनहरी गाउँपालिकाले आआफ्नै तरिकाले सिधै प्रयोगशालामा नमूना पठाउन थालेका छन् ।

साउन २९ गतेयता सङ्कलन गरिएका स्वाब नमूनाको परीक्षण नै हुन सकेको छैन । हालसम्म परीक्षण गरिएका नमूनामध्ये कति वटा नमूना दोस्रो पटक हो ? अर्थात् सङ्क्रमण पाइएका व्यक्तिको हो ? भन्ने यकिन तथ्याङ्क छैन । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमातहत रहेको हेटौंडास्थित प्रयोगशालाका आधिकारिक व्यक्तिसँग टेलिफोन संवाद नै हुन सक्दैन भने जिल्लाभरको विवरण कसले दिने भन्ने यकिन जिम्मेवारी कसैले पाएकै छैनन् या दिइएकै छैन ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्याय जिल्लाभरको तथ्याङ्क व्यवस्थापनको काम नभएको स्वीकार्नु हुन्छ । दैनिक रुपमा जिल्लामा कति स्वाब नमूना कुन कुन पालिकाबाट सङ्कलन भयो ? सङ्कलित नमूना मध्ये कुन कुन दिनमा परीक्षण भयो ? परीक्षण भएका मध्ये सङ्क्रमण पुष्टि भएका मध्ये महिला, पुरुष, उमेरगत विवरण, उनीहरुको यात्रा विवरण, सङ्क्रमणमुक्त भएकाको विवरण अद्यावधिक हुन नसकेको स्वीकार्नु हुँदै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख प्रणय उपाध्यायले भन्नुभयो, ‘अब तथ्याङ्क व्यवस्थापनको प्रयास गर्नेछौं ।’ मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रमुख दीपकराज नेपाल पनि तथ्याङ्कहरु सम्बन्धित निकायमा भएको र त्यसलाई व्यवस्थापन गर्नेतर्फ अब काम हुने बताउनुहुन्छ ।