हेटौँडा : हेटौँडा–१६ स्थित हटिया रंगशाला नजिकैको एक घरभित्रबाट विषालु प्रजातिको मानिने किङ कोब्रा सर्पको सकुशल उद्दार गरिएको छ । हेटौँडाका सर्प उद्दारकर्ता राजेश ‘गरिब’ र रोशन दीपको सक्रियतामा उक्त सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिइएको हो ।
किङ कोब्रा देखिएपछि स्थानीयले ‘गरिब’ र दीपलाई खबर गरेका थिए । उनीहरुले तत्काल घटनास्थल पुगेर सर्पलाई कुशलतापूर्वक उद्दार गरेका हुन् । उद्दार गरिएको किङ कोब्रालाई डिभिजन वन कार्यालय मकवानपुरको समन्वयमा निकुञ्ज क्षेत्रको मानव निषेधित वन क्षेत्रमा पुनः छोडिएको छ । वन अधिकृत बसन्तराज गौतमले सर्प र मानव दुवैको सुरक्षालाई ध्यानमा राखी उचित बासस्थानमा छोडिएको जानकारी दिनुभयो ।
किङ कोब्रालाई राजगोमन र कालीनाग पनि भनिन्छ । यो विश्वकै सबैभन्दा ठूलो, लामो र विषालु सर्प प्रजातिमध्ये एक हो । यसको वैज्ञानिक नाम ओफियोफेगस हाना हो । यसको टोकाइमा पाइने न्यूरोटक्सिक भेनम विष अत्यन्त घातक हुन्छ । यो सर्पको एक पटकको टोकाइले करिब २० जना मानिस वा एउटा हात्तीलाई मार्न सक्ने विषको मात्रा हुन्छ ।
तर, सर्प विज्ञहरूका अनुसार किङ कोब्रा बुद्धिमान र संवेदनशील सर्प हो । यसले अनावश्यकरूपमा आक्रमण गर्दैन र मानिसबाट टाढै बस्न रुचाउँछ । विषालु वा अविषालु जुनसुकै सर्प भए पनि मार्ने होइन, उद्दार गरी जंगलमा फिर्ता पठाउने संस्कृतिको विकास गर्न आवश्यक रहेको उद्दारकर्ता राजेशको भनाइ छ । सर्पहरूले वातावरण सन्तुलन कायम गर्न ठूलो भूमिका खेलेको र खाद्य श्रृंखलामा महत्वपूर्ण स्थान ओगटेको उहाँले बताउनुभयो ।
मकवानपुर जिल्लामा किङ कोब्राका अतिरिक्त मोनोस्लेड कोब्रा, स्पेक्टिकल कोब्रा, बेन्डेड करेट, कोरल स्नेक, ग्रीन पिट भाइपर र रेडनेक किलब्याकजस्ता विषालु सर्पहरू पनि पाइन्छन् । सर्प विशेषज्ञहरूले गरेको खोजअनुसार नेपालको दुई हजार मिटरसम्मको उचाइमा पनि सर्पहरू पाइने गरेका छन् ।











