हेटौंडाः ढुंगा, गिट्टी, बालुवा जिल्ला अनुगमन तथा समन्वय समिति मकवानपुरले जिल्लाको हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिकाको नदिजन्य पदार्थको स्टक प्रमाणित गरेको छ । शुक्रबार अनुगमन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले जिल्लाका दुई स्थानीय तहको स्टक प्रमाणित गरेको हो ।
स्टक प्रमाणितका लागि अनुगमन समितिद्वारा गठन गरिएको प्राविधिकसहितको स्टक प्रमाणित उपसमितिले तयार पारेर पेश गरेको विवरणको आधारमा जिल्लाका दुई स्थानीय तहको स्टक प्रमाणित गरिएको अनुगमन समितिका संयोजक खुलालले जानकारी दिनुभयो । स्टक प्रमाणित सिफारीस उपसमितिले पेश गरेको स्टक विवरणलाई अनुगमन समितिले अनुमोदनसहित स्वीकृत गरेको हो । त्यस्तै बैठकले स्रोत नखुलेको, बढी देखिएको जफतयोग्य नदिजन्य पदार्थ स्थानीय तहले तत्काल नियमानुसार राजस्व असुली गर्न साथै कारोबारमा बढी देखिएको मौज्दात फिल्डमा नदेखिएको हकमा राजस्व छली गरेको देखिएकोले त्यस्ता नदिजन्य पदार्थको स्थानीय तहले तत्काल राजस्व सङकलन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकले बढी उत्खनन् गर्ने र राजस्व छली गरी कारोबार गर्नेहरुमा थप कारबाही अगाडि बढाउनुभन्दा अघि स्थानीय तहसँग राय लिने र सोको लागि स्थानीय तहलाई ७ दिनको समयावधी दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । यस्तै करछली सम्बन्धी थप अनुसन्धान तथा नियमानुुसार कारबाही अगाडि बढाउन आन्तरिक राजस्व कार्यालय हेटौंडालाई आग्रह गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । आजको बैठकले ढुंगा, गिट्टी, बालुवा बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७७ को दफा–४, उपदफा (१०) मा गरिएको व्यवस्था अत्यन्तै अव्यवहारिक भएकाले सो व्यवस्था संशोधनका लागि नेपाल सरकारमा अनुरोध गर्ने र सोहि मापदण्डको दफा ३, उपदफा (ख) बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल गर्न अनुरोध गर्ने समेत निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपाल, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरे, आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख सन्तबहादुर ढकाल, मकवानपुरका प्रहरी प्रमुख सुशील सिंह राठौर, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारी, डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख ईमनाथ पौडेल, डिभिजन वन कार्यालय राप्तीका प्रमुख दीर्घ नारायण पौडेल, जिल्ला समन्वय समितिका निमित्त प्रमुख भीमलाल महर्जन, जिससका प्राविधिक राम सेवक मण्डललगायतको सहभागिता थियो ।