एक दशकदेखि कतारको नासर अल अली इन्टरप्राइसेस कम्पनीमा कार्यरत चार नेपालीले जनही १५ हजार कतारी रियाल पाएका छन् । अबिर बहादुर राई, पन्चे राई, छिरिङ्ग राई र दशरथ मुसहरले नासर अल अली कम्पनीबाट जनही १५ हजार कतारी रियाल सहित कदरपत्र पाएको शिवराज गौतमले जानकारी दिनुभयो । कम्पनीका संचालक नासर अल अलीले पुरस्कार वापतको रकम वितरण गर्दै लामो समयदेखि मिहेनत र इमान्दारीपूर्वक काम गरेको भन्दै उनीहरुको प्रशंसा गर्नु भएको थियो ।

पुरस्कृत भएका नेपालीहरुले प्राप्त रकम आफ्नो बच्चाहरूको शिक्षाको लागि खर्च गर्ने बताएका छन् । पुरस्कृत हुने नेपालीहरु २००९ मा नासर अल अली एन्टरप्राइजेज कम्पनीमा निर्माण श्रमिकका रूपमा आएका थिए । हाल उनीहरु दक्ष कामदारका रुपमा कम्पनीमा कार्यरत रहेका छन ।यसैबिच कम्पनीले नेपाल सहित भारत र बंगलादेशलगायत विभिन्न राष्ट्रका आफ्ना १० कर्मचारीहरूलाई जुलाई महिनामा उत्कृष्ट कार्य गरेको भन्दै कतारी रियाल एक हजार सहित पुरस्कृत गरेको थियो ।
कतारबाट अनिल पराजुलीको सहयोगमा