भैरव अर्यालको शालिकमा माल्यार्पण गर्नुहुँदै प्रमुख अतिथि राजकुमार लामिछाने, साथमा सम्प्रस पौडेल ।

हेटौँडा : वरिष्ठ हास्यव्यङ्गय साहित्यकार भैरव अर्यालको ९० औँ जन्मजयन्ती हेटौँडामा मनाइएको छ । आइतबार बिहान हेटौँडा–५ स्थित पुष्पलाल स्मृति पुस्तकालय परिसरमा रहेको भैरव अर्यालको शालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाइएको हो ।

साहित्यकार अर्यालको जन्मजयन्तीको अवसरमा साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरले रचना वाचन तथा परिचर्चा कायक्रम आयोजना गरेको थियो । सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष सम्प्रस पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा चिरञ्जीवी लामिछाने र लक्ष्मी कँडेलले आफ्ना रचना वाचन गर्नुभएको थियो भने साहित्य संगम मकवानपुरका सल्लाहकार निमेष निखिलले भैरव अर्यालको जीवनबारे परिचर्चा गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सिस्नुपानी नेपाल मकवानपुरका निवर्तमान अध्यक्ष हास्यव्यङ्गय साहित्यकार राजकुमार लामिछानेले अर्यालभित्र सरल भाषामा विशेष व्यङ्ग्य प्रस्तुत गर्ने प्रतिभा रहेको बताउनुभयो । कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष डि.बि. बर्तौला, पूर्वअध्यक्ष सुवास खनाल, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, साहित्यकार देवराज खरेल, पुरूषोत्तम आचार्यको पनि उपस्थिति रहेको थियो ।