हेटौँडा : गत सोमबार देशभर भएको जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शनिबार हेटौँडाको बौद्ध चोकमा दीप प्रज्वलन गरिएको छ ।
स्वतन्त्र रूपमा भेला भएका युवाहरूले मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै मौनधारण गरेर शोक व्यक्त गरे । उनीहरूले आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेका थिए । सोमबारको प्रदर्शनमा हालसम्म ५१ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले जनाएको छ ।
यसैबीच, शनिबार नै जेनजी अभियानका प्रतिनिधिहरूले मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसँग समन्वयात्मक छलफल गरेका छन् । छलफलमा मकवानपुरका प्रहरी प्रमुखसहित सबै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको जेनजी अभियानका एक सदस्यले जानकारी दिए । प्रजिअ श्रेष्ठले आन्दोलनका क्रममा मानवीय क्षति नभए पनि व्यापक भौतिक क्षति भएको बताउनुभयो । उहाँले चोरी तथा डकैतीमा संलग्न भएकाहरूको विषयमा प्रमाण उपलब्ध गराएर आवश्यक सहजीकरण गर्ने आश्वासन पनि दिएको छलफलमा सहभागी एक सदस्यले बताए ।











