चितवन : चेपाङ समुदायको न्वागी पर्वको पूर्वसन्ध्यामा नेपाल चेपाङ संघले शुक्रबार इच्छाकामना गाउँपालिका–६, कालीखोलामा दीप प्रज्वलन गरेको छ । संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङको प्रमुख आतिथ्यमा दीप प्रज्वलन गरिएको हो । उहाँले न्वागी पर्वले चेपाङ समुदायको संस्कृति र परम्परा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँका अनुसार समुदायका हरेक घरमा दीप प्रज्वलन गरिएको छ ।
हरेक वर्ष फरक जिल्लामा मनाइने न्वागी पर्व गत वर्ष धादिङमा आयोजना गरिएको थियो भने यस वर्ष चितवनमा भइरहेको छ । संघका अध्यक्ष गोविन्दरामका अनुसार आगामी वर्ष मकवानपुरको राक्सिराङ गाउँपालिकामा पर्व मनाइनेछ । दीप प्रज्वलन कार्यक्रममा संघका महासचिव सन्तबहादुर चेपाङ, केन्द्रीय सदस्य लक्ष्मण चेपाङ, दीपा चेपाङ, बागमती प्रदेश सदस्य मनिका चेपाङ, चितवन अध्यक्ष भीम चेपाङ, गाउँपालिका अध्यक्ष विकास चेपाङलगायत स्थानीयको उपस्थिति थियो । संघले शनिबार कालीखोलामै विशेष साँस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको छ । कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ प्रमुख अतिथि रहने संघले जनाएको छ ।











