हेटौँडा : विद्यालयस्तरीय यु १४ क्वालिफाई फुटबल प्रतियोगिता सुरु भएको छ । मकवानपुर जिल्ला फुटबल संघले गौरिटार रंगशालामा प्रतियोगिता आयोजना गरेको हो । शुक्रबार भएको उद्घाटन खेलमा तासिर ईङ्गलिस बोर्डिङ स्कूलले भानु माध्यमिक विद्यालयलाई ३–० गोलअन्तरले पराजित गरेको छ । तासिरका अरोज सिंहले ह्याट्रिक गरे ।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नुभयो । उद्घाटन समारोहमा बागमती प्रदेशकी युवा तथा खेलकूद मन्त्री उर्मिला नेपाल, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ्, वडा अध्यक्ष विष्णु बहादुर दहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, स्व. साईमन योन्जनका बुबा हेम बहादुर योन्जन, स्व. अनुपम घलानका आमा ललिता पाख्रिनको उपस्थिति थियो ।
प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले शिक्षाका लागि फुटबल अत्यन्त जरुरी रहेको बताउनु भयो । मानिसलाई मानसिक र शारीरिक रुपमा बलियो बनाउन खेलको महत्वपूर्ण योगदान रहने मुख्यमन्त्री बानियाँको भनाई छ । गतवर्ष सिस्नेरीमा बाढीमा परी मृत्यु भएका अनुपम घलान, सार्ईमान योन्जन, दिवस बानियाँ, विकल रेग्मी, आदित्य बलम्पाखी, प्रियान्स आचार्यको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । शुक्रबारदेखि सुरु भएको प्रतियोगिता २८ गतेसम्म हुनेछ । प्रतियोगिताका विजेता टोलीले २५ हजार नगदसहित शिल्ड प्राप्त गर्नेछ । त्यसैगरी उपविजेता टोलीले १५ हजार नगदसहित शिल्ड प्राप्त गर्नेछ । महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता हुनेछ । प्रतियोगिताका विजेता टोलीले एन्फाको आयोजनामा हुने प्रदेशस्तरीय खेल खेल्न पाउने मकवानपुर जिल्ला फुटबल संघका महासचिव छवि सुवेदीले जानकारी दिनुभयो ।
प्रतियोगितामा मकवानपुर जिल्लाका सामुदायिक र संस्थागत गरी २० वटा विद्यालयको सहभागिता रहेको छ । गतवर्ष भएको यु १६ प्रतियोगिताका विजेता बस्तीपुरका निर्मल माध्यमिक विद्यालय र उपविजेता कमाने–८ का चन्द्रोदय माध्यमिक विद्यालयले यस वर्ष प्रतियोगितामा सहभागिता जनाएका छैनन् ।











