प्यानल छलफलमा सहभागीहरु ।

हेटौँडा : पछिल्लो समय मानव बेचबिखनको स्वरुप र क्षेत्र नै बदलिँदै गएको सरोकारवालाहरुले बताएका छन् । मानव बेचबिखन बिरुद्धको १९ औं राष्ट्रिय दिवसको सन्दर्भमा शुक्रबार हेटौंडामा भएको कार्यक्रमका सहभागीहरुले बेचबिखनको बदलिँदो स्वरुपबारे ध्यानाकर्षण गराएका हुन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले मानव बेचबिखनको स्वरुप अहिले धेरै परिवर्तन हुँदै आन्तरिक रुपमा मानव बेचबिखन तथा बैदेशिक रोजगारको नाममा मानव बेचबिखन बढेको बताउनुभयो । उहाँले पहिले बेचबिखन भन्नेबित्तिकै यौन शोषणका लागि भारतमा पुर्‍याएर चेलीबेटी बेचबिखन गर्ने भन्ने मात्र रहेकोमा पछिल्लो समय महिला र पुरुष सबैलाई देशभित्रैका व्यवसाय तथा बैदेशिक रोजगारका नाममा समेत बेचबिखन भइरहेको बताउनुभयो ।

कार्यक्रममा माइती नेपालकी मकवानपुर संयोजक माया लामाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले कार्यपत्र मार्फत सन २०२० देखि २०२१ सम्म भएको एक अनुसन्धान अनुसार वार्षिक ४० हजार ३ सय मानव बेचबिखनको फन्दामा परेको तथ्याङ्क प्रस्तुत भएको थियो । यस्तै बैदेशिक रोजगारीका लागि खाडी मुलुकमा भिजिट भिसामा जानेहरु मात्र नभई पछिल्लो समय केन्या, तान्जानिया, मलाबी लगायतका अफ्रिकन मुलुकमा समेत बढेको देखिएको छ । यस्तै पोर्चुगल, युरोपियन मुलुकहरु र संयुक्त राज्य अमेरिकमा समेत नेपालीहरु बेचबिखनमा परेका उहाँले जानकारी दिनुभयो । पछिल्लो समय नेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदारको रुपमा जान प्रतिबन्ध गेरेपछि भारत हुँदै श्रीलंका, इन्डोनेसिया हुँदै जाने क्रममा मानव तस्करहरुको फन्दामा पर्ने गरेको संयोजक लामाले बताउनुभयो । यस्तै बैदेशिक रुपमा मात्र नभई देशभित्रै आन्तरिक रुपमा समेत मानव बेचबिखन फस्टाएको कार्यक्रममा बताइएको छ । विशेषगरी होटेल, बार तथा रेस्टुरेन्ट, स्पा तथा मसाज सेन्टर तथा सरोगेसी आमाका लागि पनि पछिल्लो समय देशभित्रै मानव बेचबिखन भइरहेको बताएका छन् ।

जिल्ला समन्वय समिति तथा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको सञ्जालको संयुक्त आयोजनामा भएको कार्यक्रममा मानव बेचबिखन बिरुद्धको जिल्लाको वस्तुस्थितिबारे प्यानल छलफल समेत भएको थियो । प्यानल छलफल क्रममा मकवानपुरका जिल्ला न्यायाधिवक्ता बिनोद पौडेलले बेचबिखनमा परेका पीडित बयान दिने क्रममा न्यायका क्रममा वास्तविकता नबताई होस्टाइल हुने गरेकोले न्यायिक प्रकियामा समस्या हुने गरेको बताउनुभयो । सही बयान दिने पीडितले न्याय पाएको भन्दै उहाँले मुद्दा दायर गरेपछि ३ महिनामै न्याय पाउने समेत दावी गर्नुभयो । प्यानल छलफलमा मकवानपुरका जिल्ला न्यायाधिवक्ता बिनोद पौडेल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्याल, माइती नेपालकी मकवानपुर संयोजक माया लामा सहभागि रहनुभएको थियो ।

बैदेशिक रोजगार प्रर्बद्धन बोर्डले यसरी बेचबिखनको समस्यामा परेकाहरुलाई क्षतीपुर्ति प्रदान गरिने कारणले पनि कतिपय घटनाहरु दर्ता नगरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो । मानव बेचबिखन गर्नेलाई २० वर्ष कैद र २ लाख जरिवाना गरिने कानुनी प्राबधान भएपनि बोर्डबाट आर्थिक सहायता प्राप्त हुने भएकोले पीडितहरु प्रहरीमा जाहेरी लिएर कम मात्रै आउने गरेको उहाँको भनाइ छ ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाकी महिला तथा बालबालिका तथा समावेशी महाशाखाकी प्रमुख बिष्णु कुमारी लामिछाने, गैरसरकारी सँस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, जिल्ला समन्वय समिति मकवानपुरकी पुर्व उपप्रमुख भगवती पुडासैनी, लगायत जिल्लामा मानव अधिकार तथा बेचबिखन बिरुद्ध कार्यरत संघसंंस्थाका प्रतिनिधीहरुको सहभागिता थियो ।