हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई ‘मानवताको प्रदेश’ घोषणा गर्ने बताउनु भएको छ । उहाँले प्रदेशका १३ जिल्लामा सडक तथा सहयोगापेक्ष मानवहरुको व्यवस्थापन गरेर सरकारले ‘मानवताको प्रदेश’ घोषणा गर्ने बताउनुभयो ।
हेटौँडामा आयोजित मानवसेवा आश्रमको १३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले मानव सेवा आश्रमको सेवालाई प्रदेशका सबै १३ जिल्लामा विस्तार गर्न सरकारले पूर्ण सहयोग गर्ने बताउनुभयो । सडक–आश्रित, बेसहारा तथा असहाय मानिसहरुको उद्धार र संरक्षणमा मानवसेवा आश्रमको कार्य उत्कृट रहेको उहाँले बताउनुभयो ।
‘एउटा व्यक्तिले सत्य र मानवताको भावले निरन्तर काम गर्दा समाज र सरकारलाई नै घच्घच्याउन सक्दो रहेछ । हामी सरकारमा छौँ । हामीले चाहे धेरै गर्न सक्छौँ ।’ उहाँले भन्नुभयो, ‘यसअघि दुई वटा प्रदेशले सडक मानवमुक्त प्रदेश घोषणा गरिसकेको बुझेको छु । अब तेस्रो नम्बरमा बागमती प्रदेशले यथाशीघ्र ‘मानवताको प्रदेश’ घोषणा गर्नेछ । प्रदेशका सबै जिल्लामा सेवा विस्तार गर्ने अभियानमा सरकार साझेदार बन्नेछौं । आवश्यकता अनुसार आश्रमका भवन तथा संरचना निर्माणका सहयोग गर्न तत्पर छौं ।’
समाजलाई कसरी राम्रो बनाउने, टुटेका मनहरूलाई कसरी जोड्ने भन्नेमा चिन्तन गर्नुपर्नेमा मुख्यमन्त्री बानियाँको आग्रह छ । संघीय सरकार मातहतका खाली भवन आश्रमलाई उपलब्ध गराउने गरी प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग पहल गर्ने उहाँले आश्वासन दिनुभयो ।











