अन्तरक्रियामा सहभागी मुख्यमन्त्री बानियाँ र प्रथम मुख्यमन्त्री पौडेल ।

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बजेट अभाव हुन नदिने बताउनुभएको छ । उहाँले प्रदेशको गौरवको आयोजनाको रुपमा प्रतिष्ठानलाई प्रदेश सरकारले प्राथमिकताका साथ विकास गर्ने बताउनुभयो ।

बिहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पतालको अवलोकन तथा अन्तरक्रियामा मुख्यमन्त्री बानियाँले प्रतिष्ठानका लागि बजेटको कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा राजनीतिक विचारभन्दा माथि उठेर सरकार सबै एकमत भएर विकास र विस्तारमा प्रतिवद्ध रहेको उहाँको भनाई छ । उहाँले प्रतिष्ठान स्थापना हुँदा आफू प्रमुख प्रतिपक्षी दलको नेताको भूमिकामा रहेको स्मरण गर्नुहुँदै तत्कालीन सत्तापक्ष र प्रतिपक्षको सर्वसम्मत निर्णयबाट संस्था स्थापना भएको स्पष्ट पार्नुभयो । प्रतिष्ठानको विकासमा कुनै राजनीतिक बाधा नहुने उहाँले स्पष्ट पार्नुभयो ।

‘पैसाको अभावले प्रतिष्ठानको कुनै पनि काम रोकिँदैन । तपाईंहरू ढुक्क हुनुहोस्’, मुख्यमन्त्री बानियाँले भन्नुभयो, ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशको गौरवको स्वास्थ्यसम्बन्धी सबैभन्दा ठूलो आयोजना हो र यसलाई द्रुत गतिमा अगाडि बढाउन सरकार प्रतिबद्ध छ । राजनीतिक सिद्धान्त र विचार अलग हुन सक्छन् । तर नागरिकको स्वास्थ्यसँग जोडिएको कुरामा हामी सबै एक छौं ।’

उहाँका अनुसार हाल प्रतिष्ठानका विभिन्न शैक्षिक कार्यक्रमहरु विभिन्न स्थानमा छरिएर सञ्चालन हुँदा खर्च बढेको र व्यवस्थापनमा कठिनाइ भएको उहाँले बताउनुभयो । उक्त समस्याको हल गर्न प्रतिष्ठानको सबैलाई कार्यक्रम एउटै छानामुनि ल्याउन तत्काल काम अघि बढाइने उहाँले बताउनुभयो । प्रतिष्ठानका छरिएर रहेका शैक्षिक कार्यक्रमहरूलाई एकै ठाउँमा सञ्चालन गर्न १० महिनाभित्र एकीकृत पूर्वाधार निर्माण गरिने मुख्यमन्त्री बानियाँको भनाई छ । मुख्यमन्त्री बानियाँका अनुसार लामो समयदेखि निर्माणाधीन २०० शैय्याको अस्पताल भवनको काममा भएको ढिलाइप्रति गम्भीर ध्यानाकर्षण भएर यसको कारण खोजेर दोषीमाथि कारबाही गरिने छ ।

‘प्रतिष्ठानको छरिएर रहेका सबै कार्यक्रमलाई एकै ठाउँमा ल्याउन तत्काल टेन्डर प्रक्रिया अघि बढाइनेछ । १० देखि ११ महिनाभित्रमा एकीकृत भवन निर्माण भई सबै कार्यक्रम एकै ठाउँबाट सञ्चालन भएको देख्न पाइनेछ । यसका लागि आवश्यक करिब २२ करोड रुपैयाँको बजेट व्यवस्थापन गरिने छ’, मुख्यमन्त्री बानियाँले भन्नुभयो, ‘२०८० मा सम्पन्न हुनुपर्ने काम २०८२ सम्म पनि नसकिनुको कारण के हो ? ठेकेदारको कमजोरी हो वा कर्मचारीको, तत्काल छानबिन गरेर कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ । अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण खरिद गर्न तत्काल १० करोड रुपैयाँ निकासा गरिनेछ र थप विषयहरु क्रमशः समेट्नेछौं ।’

अन्तरक्रियामा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठानको विकासमा आफ्नो पूर्ण ऐक्यबद्धता रहेको बताउनुभयो । उहाँले विगतमा केही समस्या र कठिनाइका कारण सोचेजस्तो गति लिन नसकेको बताउनुभयो । उहाँका अनुसार अब सबै बाधाहरु हटेको र काम गर्नका लागि सहज वातावरण बनेको धारणा व्यक्त गर्नुभयो ।

‘विगतका अप्ठ्याराहरु अब छैनन् । अब कुनै बहानाबाजी गरेर यसलाई बिगार्ने काम कसैले पनि गर्नु हुँदैन । यो अवसर हेटौँडाको मात्र नभई समग्र प्रदेशकै लागि हो । त्यसैले सबैले मिलेर यसलाई सफल बनाउनुपर्छ’, उहाँले भन्नुभयो । उहाँका अनुसार प्रतिष्ठानलाई वृहत् बनाउने सवालमा राजनीतिक दलहरुबीच कुनै मतभेद छैन । प्रतिष्ठानको नयाँ नेतृत्वले पाएको अवसरलाई अधिकतम उपयोग गर्दै संस्थालाई नयाँ उचाइमा पुर्‍याउन उहाँले आग्रह गर्नुभयो ।