हेटौँडा : मोटरसाइकलको ठक्करबाट घाइते भई उपचाररत मकवानपुरगढी गाउँपालिका–५, सिमलटारकी ७३ वर्षीया वृद्धा सुकुमाया गोलेको उपचारको क्रममा मृत्यु भएको छ । सुकुमायाको मंगलबार साँझ ५ बजेको समयमा हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
गत आइतबार बिहान साढे ८ बजेको समयमा ज्यामिरे खोलाबाट हेटौँडातर्फ आउँदै गरेको बा ५३ प २४१ नम्बरको मोटरसाइकलले मकवानपुरगढी–५, सिमलटारमा सुकुमायालाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते सुकुमायालाई उपचारका लागि चितवन जिल्लास्ति पुरानो मेडिकल कलेज लगिएको थियो । पुरानो मेडिकल कलेजले उपचार सम्भव नहुने भनेपछि परिवारका सदस्यले सुकुमायालाई हेटौँडास्थित मकवानपुर सहकारी अस्पताल ल्याएर राखेका थिए ।
प्रहरीले मोटरसाइकल चालक मकवानपुरगढी–६, सामरीका २० वर्षीय समीर घलानलाई नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक घलानसँग सवारी चालक अनुमतिपत्र नभएको र मोटरसाइकल पनि आफन्तको नाममा रहेको प्रहरीले उल्लेख गरेको छ । सवारी चालक अनुमतिपत्र नहुँदा दुर्घटनासम्बन्धी अपराधमा कानूनी कारवाहीको प्रक्रिया गम्भीर हुने सुरक्षा निकायको भनाइ छ ।











