वडास्तरीय छनोटमा सहभागी बालबालिकाहरु ।

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकाले वडा तहमा फुटबल खेलाडी छनोट प्रक्रिया सम्पन्न गरेको छ । वडा तहबाट १ सय ५३ जना बालबालिका छनोट भएका छन् । वडाबाट छनोट भएका मध्येबाट आज बुधबार र भोलि बिहीबार दुई दिन पालिकास्तरीय छनोट हुने बताइएको छ । फुटबल एकेडेमी सञ्चालन गर्न तयारी गरिरहेको गाउँपालिकाले १२ देखि १४ वर्ष उमेर समूहका खेलाडीहरु छनोट सुरु गरेको हो ।

१२ वर्ष उमेर समूहतर्फ वडा तहबाट ५७ जना छनोट भएका छन् । यसैगरी १४ वर्ष उमेर समूहतर्फ वडास्तरीय छनोटबाट ९६ जना छनोट भएका छन् । १२ वर्ष उमेर समूहको पालिकास्तरीय छनोट आज बुधबार हुनेछ भने १४ वर्ष उमेर समूहको छनोट भोलि बिहीबार हुनेछ । अन्तिम छनोट झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा हुनेछ । त्रिभुवन आर्मी क्लबका मुख्य प्रशिक्षक मेघराज केसीको टालीले खेलाडी छनोट गर्दैछ ।

अन्तिम चरणको छनोट प्रक्रियामा ७५ जनालाई मात्र छनोट गरिने प्रशिक्षक केसीले जानकारी दिनुभयो । अन्तिम चरणमा छनोट भएका खेलाडीलाई फापरबारीमा एकेडेमी सञ्चालन गरिनेछ । पालिकाले खेलमैदान र एकेडेमीका लागि आवश्यक छात्रावास समेत तयार पारिसकेको छ । बागमती गाउँपालिकाले राष्ट्रियस्तरको गोल्डकप फुटबल प्रतियोगिता समेत आयोजना गर्दै आएको छ । गत फागुनमा सातौं संस्करणको प्रतियोगिता सम्पन्न भएको थियो ।