हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–९, पशुपतिनगरमा मोटरसाइकल दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ ।
शनिबार साँझ ४ बजेर ५० मिनेटको समयमा रातोमाटेबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा प्र ०२–०४५ प ५५९७ नम्बरको मोटरसाइकल र हेटौँडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको बा प्र ०३–००५ प ९०६९ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । बा प्र ०३–००५ प ९०६९ नम्बरको मोटरसाइकलमा सवार पर्सा जिल्लाको बिरगंज महानगरपालिका–१३, मुर्लीकी ४३ वर्षीया कविता जोशी श्रेष्ठको मृत्यु भएको हो । मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा पछाडि सवार कविता हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना ७ ख ५०१० नम्बरको बसमा समेत ठोक्किएकी थिइन् । दुर्घटनामा परी गम्भीर घाइते भएकी कविताको शनिबार साँझ साढे ५ बजेको समयमा हेटौँडा अस्पतालमा मृत घोषित गरिएको हो । मोटरसाइकल चालक कविताका श्रीमान् ४८ वर्षीय प्रविण श्रेष्ठ घाइते छन् ।











