हेटौँडा : मकवानपुर जिल्लास्तरीय जुनियर तथा युवा रेडक्रस सर्कलको ३६ औँ गोष्ठी अरनिको माध्यमिक विद्यालयमा हुने भएको छ । विद्यालयको आतिथ्यमा गोष्ठी भदौ १३ र १४ गते हुने नेपाल रेडक्रस सोसाइटी मकवानपुरले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको वार्षिक कार्यक्रम अनुरुप गोष्ठी हुन लागेको हो । युवा तथा विद्यार्थीहरुलाई रेडक्रसको ‘म सेवा गर्छु’ भन्ने मूलमन्त्रका साथ सानै उमेरदेखि मानवीय सेवा तथा सामाजिक कार्यमा सहभागी गराई भविष्यमा असल नागरिक तयार गर्ने उद्देश्यका साथ त्यस विद्यालयमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन गरिएको छ । जिल्लाभरीको विद्यालयमा रहेका हरेक सर्कलबाट गोष्ठीमा १ जना छात्रा, १ जना छात्र र १ जना शिक्षक सहभागी हुनेछन् ।
गोष्ठीमा जिल्लाभर गरिएका क्रियाकलापको जानकारी र समिक्षा, रेडक्रस अभियान र कार्यक्रमको प्रस्तुति, विभिन्न प्रतियोगितामा उत्कृष्ट तथा सहभागीलाई सम्मान तथा हाजिरीजवाफ प्रतियोगिता गराइनेछ । त्यस्तै रेडक्रसका आधारभूत सिद्धान्तहरुको व्यवहारिक प्रदर्शन, सर्कलले वर्षभरीमा गनुपर्ने कार्यक्रमहरुको कार्ययोजना तर्जुमा, जुनियर तथा युवा रेडक्रस नीति र कार्यप्रणालीको प्रस्तुती साथै सिफारिस तथा प्रतिवद्धतामा आधारित भएर गोष्ठी सञ्चालन हुनेछ ।
नेपाल रेडक्रसको अभिन्न अंगको रुपमा रहेको जुनियर तथा युवा रेडक्रस संगठनमा किशोर–किशोरी तथा युवालाई विशेषगरी स्वयंसेवकको रुपमा, नेतृत्वदायी भूमिकामा र लाभान्वितका रुपमा आवद्ध गराई रेडक्रस अभियानको लक्ष्य हासिल गर्नमा योगदान प्राप्त गर्नुका साथै विकास तथा सेवा कार्यमा परिचालन गराउने लक्ष्यका साथ यसको स्थापना गरिएको हो ।











