हेटौंडाः आर्थिक प्रलोभनमा पर्ने छ जना प्रहरी निलम्बित भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा उनीहरुलाई साउन २१ गते नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत पाँच जना र जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत एक जना गरी छ जना प्रहरीलाई सवारी चालकसँग विभिन्न बहानामा रकम लिएको अवस्थामा प्रदेश प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । निलम्बित हुनेमा दुई जना प्रहरी हवल्दार र चार जना प्रहरी जवान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुली मातहतको प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी हवल्दार डो बहादुर कार्की, प्रहरी जवान कुमार बाबु सिंह, धिरेन्द्र साह, राम कुमार थापा र जिल्ला प्रहरी कार्यालय काभ्रे अन्तर्गतको ईलाका प्रहरी कार्यालय मंगलटारमा कार्यरत प्रहरी जवान नवीन बहादुर थापालाई निलम्बन गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
निलम्बित प्रहरीको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ । सेवाग्राहीसँग आर्थिक प्रलोभनमा पर्ने एकजना प्रहरी निरीक्षकसहित ११ जना प्रहरी निलम्बित भइसकेका छन् भने डियुटीमा ईमान्दारिता प्रदर्शन गर्ने २५ जना प्रहरी पुरस्कृत भइसकेका छन् ।