हेटौंडाः विद्यालयबाट आइसोलेसन हटाउने निर्णय अनुसार बागमती प्रदेशमा पनि स्थानान्तरण हुने भएका छन् । आइसोलसन हटाउने निर्णय कार्यान्वयन गर्न हेटौंडाको श्रमिक माध्यमिक विद्यालयबाट हेटौंडाको केन्द्रिय खेलकुद प्रतिष्ठान (गौरीटार रंगशाला) को छात्रावासको भवनमा स्थानान्तरण गरिने भएको छ ।
गौरीटार रंगशालाको छात्रावासमा स्थापना गरिन लागेको स्थानमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल स्वयम् पुग्नुभएको छ । स्थानको अवलोकन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले यसलाई छिटोभन्दा छिटो स्थानान्तरण गर्न निर्देशन दिनुभयो । प्रदेशमा कोरोना सङ्क्रमण फैलन सक्ने तर्फ सचेत हुन आग्रह गर्नुहुँदै उहाँले प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताउनुभयो । यसैगरी सामाजिक विकास मन्त्री युवराज दुलालले छात्रावाससँगै बन्दै गरेर अन्तिम चरणमा रहेको कभर्डहलमा समेत संक्रमित राख्न सकिने भन्दै यसलाई आवश्यकता अनुसार निर्माण गरिने जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यसको व्यवस्थापनमा जनशक्ति, आर्थिक लगायतका काममा सहयोग हुने बताउनुभयो ।
निरीक्षणमा बागमती प्रदेशका प्रमुख सचिव डा. मानबहादुर विश्वकर्मा, सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्ले, चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाई, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, मेडिकल सुपरिटेन्डेन्ट डा. प्रविन श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईं लगायत सहभागी हुनुहुन्थ्यो । यसैगरी प्रदेशका अन्य जिल्लामा विद्यालयमा रहेका आइसोलेसन र क्वारेन्टिन पनि हटाएर अन्य स्थानमा राखिने भएको छ । बागमती प्रदेश कोभिड संकट व्यवस्थापन समितिले सोमबार मात्र विद्यालयबाट आइसोलेसन र क्वारेन्टिन हटाउने निर्णय गरेको थियो । मङ्गलबारबाट नै सो निर्णय कार्यान्वयनमा प्रदेश सरकार लागिसकेको छ ।