नवसर्जक रोश्नीको एकल कविता वाचन कार्यक्रमपछि मायाको चिनो प्रदान गरिँदै ।

हेटौँडा : नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिले शनिबार कवि रोश्नी चौलागाईंको एकल कविता वाचन एवम् विमर्श कार्यक्रम सम्पन्न भएको छ । चौतारीकी केन्द्रीय अध्यक्ष कृतिका लौडारीको सभाध्यक्षता तथा अग्रज साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा कविका कविताहरुमाथि विमर्श कवि शान्ति प्रियवन्दनाले गर्नु भएको थियो ।

चौतारीकी महासचिव स्वस्तिका दाहालको सहजीकरण तथा उपमहासचिव रचना भण्डारीको स्वागत मन्तव्य तथा कवि परिचयका साथ सञ्चालित कार्यक्रममा कवि रोश्नी चौलागाईंले दुई चरणमा ३–३ वटा गरी आफ्ना आधा दर्जन कविता सुनाउनु भयो । कार्यक्रममा प्रमुख अतिथि रिजालले आगामी साहित्यिक यात्राका लागि कवि चौलागाईंलाई शुभकामना दिनुहुँदै आफ्नो कविता वाचन गर्नुभयो । कार्यक्रममा नवसर्जक साहित्य चौतारी नेपालका केन्द्रीय सल्लाहकार रमेशमोहन अधिकारीले आफ्नो मन्तव्य राख्दै कवि चौलागाईंको नवसर्जकसँगको यात्रा निरन्तर कायय रहोस् र आगामी शैक्षिक र साहित्यिक यात्राको शुभकामना दिनुभयो ।

नवसर्जक साहित्य चौतारी बागमती प्रदेशकी निवर्तमान अध्यक्ष कवि रोश्नी चौलागाईंको एकल कविता वाचन एवं विमर्श कार्यक्रममा नवसर्जक साहित्य चौतारी नेपालका केन्द्रीय सल्लाहकार डी.बी. बर्तौला, अग्रज साहित्यकार तुलसी घिमिरे, अग्रज साहित्यकार जनार्दन खनाल, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, हास्यव्यंग्यकार/अग्रज साहित्यकारको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।