हेटौँडा : बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तारको तयारी थालिएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियक्त गर्ने तयारी थालेको उहाँ निकट स्रोतले जनाएको छ ।

बागमती सरकारमा अहिले मुख्यमन्त्री बानियाँसहित कांग्रेसबाट जम्मा तीन जना सामेल छन् । बानियाँले मुख्यमन्त्री नियुक्त भएसँगै एमालेका ६ र कांग्रेसका दुई जना सामेल गरी मन्त्रिपरिषद गठन गर्नुभएको थियो ।

कांग्रेस र एमालेबिच भएको भागबन्डा अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ मन्त्री पाउँछ । सो अनुसार एमालेको कोटा पूरा भइसकेको छ भने काँग्रेसले पाँच मन्त्री नियुक्त गर्न बाँकी छ ।
मुख्यमन्त्री बानियाँले कञ्चनकृष्ण वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ । उहाँहरूलाई शुक्रबार नै हेटौंडामा बोलाइएको स्रोतले जनाएको छ ।

प्रदेश प्रमुख कार्यालय स्रोतले भने मन्त्रिपरिषद विस्तारबारे नाम आइनसकेको तर आजै नियुक्त र शपथ हुने सम्भावना भने रहेको जनाएको छ ।