विश्वासको मत प्राप्त भएको जानकारीपछि मुख्यमन्त्री बानियाँलाई बधाई दिनुहुँदै उपसभामुख अप्सरा चापागाई ।

हेटौँडा : बागमती प्रदेशसभाको २ वर्ष ८ महिनाको अवधिमा ५ पटक विश्वासको मत सम्बन्धी प्रस्तावको खेल चलेको छ । २०७९ मंसिरको आम निर्वाचनपछि गठित प्रदेशसभाको हालसम्मको अवधिमा ३ मुख्यमन्त्रीले ५ पटक विश्वासको मत लिएका छन् ।

सो अवधिमा प्रदेशसभाबाट माओवादी केन्द्रका १ र कांग्रेसका २ मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिएका छन् । मंगलबार मात्र बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाउनुभएको छ । उहाँको पक्षमा गठबन्धन दल एमालेको २७ र कांग्रेसको ३६ जना प्रदेशसभाले मत दिएका हुन् । कांग्रेसका १ जना प्रदेशसभा सदस्य भने बैठकमा उपस्थित रहेनन् । ११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहनुभएका बानियाँको विपक्षमा २२ र ७ मत तटस्थमा परेको थियो । बैठकमा ९२ प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो भने १८ जना प्रदेशसभा सदस्य अनुपस्थित रहे ।

त्यसअघि २०८१ साउन १५ मा तत्कालिन मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले प्रदेशसभाबाट विश्वासको मत लिनुभएको थियो । सो समयमा वर्तमान गठबन्धनबाट लामाले ६४ मत प्राप्त गर्नुभएको थियो । मुख्यमन्त्री लामाले २०८१ साउन ९ गतेदेखि २०८२ साउन २० गतेसम्म सरकार संचालन गर्नुभयो । २०८२ साउन ९ मा लामाविरुद्ध वर्तमान मुख्यमन्त्री बानियाँले संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता गराउनुभयो र साउन १३ मा पारित भयो । साउन १४ मा भएको संसदीय दलको नेतामा लामालाई पराजित गर्दै बानियाँ दल नेता निर्वाचित हुनुभयो र पार्टी शिर्ष नेतृत्वको दवावमा साउन १८ गते लामाले मुख्यमन्त्रीबाट राजीनामा घोषणा गर्नुभयो भने साउन १९ मा राजीना दिनुभयो । साउन १९ गते प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आव्हान गर्नुभए बमोजिम नेपालको संविधानको धारा १६८ को २ बमोजिम साउन २० मा बानियाँले मुख्यमन्त्री पदभार ग्रहण गर्नुभयो ।

यता २०७९ सालमा सम्पन्न निर्वाचनपछि प्रदेशसभा गठन भएको १६ महिनाको अवधिमा नै प्रदेशसभामा ३ पटक विश्वासको मतको खेल भएको थियो । तत्कालिन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले फरक–फरक गठबन्धनबाट विश्वासको मत लिनुभएको थियो । २०८१ साउन ६ मा चौथो पटक विश्वासको मत लिने तयारी गरेका उहाँले समीकरण अनुकुल नदेखिएपछि पदबाट राजीनामा दिनुभएको थियो । विश्वासको मत लिन आह्वान गरेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले पदबाट राजीनामा दिने घोषणा गरेर सोही दिन पदबाट राजीनामा दिनुभएको थियो ।

उहाँले तेस्रो पटक २०८० चैत १९ मा विश्वासको मत लिएर सरकार सुरक्षित गर्नुभएको थियो । २०७९ पुस २५ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री बन्नुभएका माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेलले सत्ता समीकरणमा आएको फेरबदलसँगै कांग्रेसले समर्थन फिर्ता लिनुभएपछि चैत १९ मा प्रदेशसभाबाट फेरि विश्वासको मत लिनुभएको थियो ।

सो समयमा उहाँले प्रदेशसभामा उपस्थित कुल १०८ सदस्यमध्ये पक्षमा ५६ मत प्राप्त गर्नुभयो भने विपक्षमा ३७ मत परेको थियो । १५ जना प्रदेशसभा सदस्य तटस्थ बसेका थिए । उक्त समयमा जम्कट्टेललाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्यले विश्वासको मत दिँदा कांग्रेसले मात्र विपक्षमा मतदान गरेको थियो । राप्रपा र नेमकिपाका प्रदेशसभा सदस्य भने तटस्थ रहेका थिए ।

त्यसअघि तत्कालिन मुख्यमन्त्री जम्कट्टेलले पहिलो पटक २०७९ माघ ३ मा विश्वासको मत लिनुभएको थियो । तत्कालिन समयमा उहाँले एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको गठबन्धनबाट विश्वासको मत पाउनुभएको थियो । सो समयमा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेससमेत गरी १०५ जना प्रदेशसभा सदस्यको विश्वासको मत पाउनुभएको थियो । त्यतिबेला उपस्थितमध्ये नेमकिपाले मात्रै उहाँलाई मत दिएका थिएनन् ।

जम्कट्टेलले गत २०७९ चैत १० मा दोस्रो पटक प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको थियो । प्रदेशसभाको सो बैठकबाट उहाँको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ६७ मत प्राप्त गर्नुभएको थियो । उहाँलाई त्यतिबेला कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहित हाम्रो नेपाली पार्टीबाट विश्वासको मत प्राप्त भएको थियो । उनको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा १७ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए भने ७ जना प्रदेशसभा सदस्यहरु तटस्थ बसेका थिए ।