हेटौँडा : बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पूर्वसहमती पालनाको प्रतिवद्धता खोज्ने क्रममा काठमाडौंमा रहनुभएको छ । उहाँ काठमाडौंमा रहेर आफले पदबाट राजिनामा दिने बखतमा भएको सहमति कार्यान्वयनको माग गर्दै पार्टी सभापति शेरबहादुर देउवासमक्ष पुग्ने गर्नुभएको छ ।

लामा पक्षका ९ जना सांसदले आइतबार मात्र सभापति देउवालाई भेटको बताइएको छ । सभापति देउवासँगको भेटका क्रममा उहाँहरुले तत्कालिन समयमा आफूसंग भएको सहमथि पालना हुनुपर्ने माग राख्नुभएको थियो । सभापति देउवासँगको भेटका क्रममा तत्कालिन मुख्ममन्त्री बहादुर सिंह लामासँग भएको सहमती कार्यान्वयन हुनुपर्ने माग राखेको लामा पक्षका सांसद गोविन्द लम्सालले जानकारी दिनुुभयो ।

उहाँले यदि माग पुरा नभए राजिनामा दिने कुरा सभापतिलाई जानकारी गराएको दावी पनि गर्नुभयो । नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन तत्कालिन मुख्यमन्त्री लामाले नियुक्त गरेका ३ जनालाई मन्त्रीको सपथ गराउनुपर्ने आफुहरुको बटम लाइन रहेको सांसद लम्सालको भनाई छ । सो बहेक प्रदेका नियुक्तिहरुमा समेत सम्मानजनक हक हुनुपर्ने माग गरेको र उक्त विषयमा सभापति देउवा समक्ष ध्यानाकर्ष गराइएको उहाँले बताउनुभयो ।

भेटका क्रममा पार्टी सभापति दउवाले सहमती पालना हुने र माग सम्बोधन गर्ने विषयमा सकारात्मक जवाफ प्राप्त गरेको उहाँले बताउनुभयो । निवर्तमान मुख्यमन्त्री र बर्तमान मुख्यमन्त्रीलाई राखेर सहमति कार्यान्वयन गराउने सभापति देउवाको आश्वसन रहेको लम्सालले बताउनुभयो ।

उहाँका अनुसार सभापति देउवाले विश्वासको मत दिने तयारी गर्नु, सहमती पालना हुन्छ भनेर भन्नुभएको थियो । भेटका क्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सभापति देउवाको निर्देशन रहेको सांसद लम्सालको भनाई छ । पार्टीले ह्वीप जारी गरेकाले फ्रोलक्रस गर्ने, अनुशासन तोड्ने काम गर्न नहुने सभापति देउवाको निर्देशन रहेको सांसद लम्सालले बताउनुभयो ।

पूर्वमन्त्री एवम् बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गीका अनुसार पार्टी सभापति देउवासँग आइतबार पार्टी कार्यालय सानेपामा भएको भेटमा विवाद समाधानको सकारात्मक पहल भएको थियो । पार्टी सभापति देउवाले दुवै पक्षलाई समस्या हल गर्ने सहज दिशा निर्देश गरिसकेको उहाँको भनाई छ । सोही निर्देशनका आधारमा दुवै पक्षको सहमति पछि कांग्रेसको आन्तरिक संघर्ष समाधान हुने उहाँले बताउनुभयो ।

‘आइतबार पार्टी सभापतिले समस्या हल गर्ने निर्देशन दिइसक्नु भएको छ । विवाद बढाएर नहुने निश्कर्ष सहित माग सम्बोधन गर्ने र मुख्यमन्त्रीलाई सहयोग गर्ने विषयमा सबैले प्रतिवद्ध भएर लाग्नुभएको छ ।’ उहाँले भन्नुभयो, ‘मुख्यमन्त्रीले विश्वासको मत पाउने र निवर्तमान मुख्यमन्त्रीले उठाएको माग अधिकतम सम्बोधन हुनेगरी अघि बढ्न पार्टी सभापतिबाट निर्देशन आएको छ । समस्या हल गर्न विकल्पको खाका निर्माण भइसकेको छ ।’

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र १४ सांसदको नेतृत्व गरिरहेका बहादुर सिंह लामा बिच अन्तिम चरणमा वर्ता हुन बाँकी रहेको र सो लगत्तै निश्कर्षमा पुग्ने उहाँले बताउनुभयो । कांग्रेसमा असहज परिस्थिती निर्माण हुने अवस्था नरहेको उनले स्पष्ट पारिन् । सांसदहरुको राजीनामाको सम्मको अवस्था नआउने उहाँको भनाई छ ।

यसअघि १८ साउनमा तत्कालिन मुख्यमन्त्री लामाले राजिनामा दिनुअघि उनी र संसदीय दलका नेता इन्द्रबहादुर बानियाँबिच लामाले नियुक्त गरेका मन्त्रीहरु गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री बनाउने सहमति भएको थियो । पार्टी सभापति देउवाको उपस्थितिमा भएको सहमती मुख्यमन्त्री बानियाँले नमानेको भन्दै लामा पक्ष अहिले असन्तुष्ट बनिरहेका छन् । उनीहरुले सहमती पालना नभए मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने बरु सांसद पदबाटै राजिनामा दिने बताउँदै आउनुभएको छ ।

२० साउनमा मुख्यमन्त्रीको सपथ लिँदा बानियाँले कांग्रेसकातर्फबाट शिबराज अधिकारी र कृष्णकुमार तामाङलाई मात्रै मन्त्रीमा नियुक्त गरेपछि लामा पक्ष पार्टी सभापति भेट्न भन्दै काठमाडौं पुग्नुभएको थियो ।

मुख्यमन्त्रीले बाहादुर पक्षका ५ जनालाई मन्त्री बनाउछु भन्नुभएको छः प्रवक्ता लामिछाने
यता कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रवक्ता सुरजचन्द्र लामिछानेले प्रदेशमा रिक्त रहेको ५ मन्त्रालयमा बहादुर सिंह लामा पक्षकालाई मनत्री बनाउने मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रष्टोक्ति रहेको बताउनुभयो । पार्टी सभापति शेरबहादुर देउवासंगको छलफल पछि बहादुर लामा पक्षका ३ जना मात्र नभई ५ मन्त्रालयमा मन्त्री बनाउने बताएको उहाँको भनाई छ ।

उहाँले निवर्तमान मुख्मयन्त्री बाहादुर सिंह लामासँग भएको सहमतिको बिषयलाई लिएर केहि पक्षले भ्रम सिर्जना गर्न खोजिरहेको दावी पनि गर्नुभयो । प्रवक्ता लामिछानेले जुनसुकै समूहको नाम आएपनि आखिर कांग्रेसकै सांसद भएकाले मुख्यमन्त्रीले त्यसमा कुनै आपति नजनाएको दावी गर्नुभयो । तर मन्त्रिपरिषद विस्तार भने २७ गते विश्वासको मत लिएपछि मात्रे हुने उहाँले स्पष्ट पार्नुभयो ।

‘२७ गते मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने कार्यक्रम छ । त्यसपछि मात्रै मन्त्रिपरिषद विस्तार हुन्छ,’ उहाँले भन्नुभयो । त्यसपछि पार्टीका सभापति लगाएत शिर्ष नेतृत्वसँग बसेर मन्त्रिपरिषद विस्तारको बिषय टुंग्याउने प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।