हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाले सामुदायिक विद्यालयमा प्रधानाध्यापकको पदावधि समाप्त भएको अवस्थामा नयाँ नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको छ । पालिकाले शुक्रबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको साउन १६ गतेको पत्र र साउन २१ गते बसेको गाउँ शिक्षा समितिको बैठकको निर्णय बमोजिम प्रधानाध्यापक नियुक्तिको प्रक्रिया अगाडि बढाउन पालिकाले विद्यालयलाई निर्देशन दिएको हो ।
शिक्षा नियमावली २०५९ (संशोधनसहित) परिच्छेद १७, नियम ९३ र अनुसूची १३ अनुसार सामुदायिक विद्यालयमा प्राविधिक तथा प्रशासकीय प्रमुखको रूपमा प्रधानाध्यापकको नियुक्ति अधिकतम पाँच वर्षका लागि हुने व्यवस्था रहेको छ । पदावधि समाप्त भएपछि नयाँ नियुक्ति गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । निर्देशनमा विद्यालय व्यवस्थापन समितिको निर्णयबाट तुरुन्त प्रधानाध्यापकको पदावधि समाप्त भएका विद्यालयहरुले शिक्षा नियमावलीको अनुसूची १३ अनुसार आवश्यक छनोट प्रक्रिया अगाडि बढाई नियुक्ति गरी अनिवार्य रूपमा कार्यालयलाई जानकारी गराउन अनुरोध गरिएको छ ।
मकवानपुरको सन्दर्भमा विद्यालय व्यवस्थापन समितिले सहमतिमै निमित्त प्रधानाध्यापक नियुक्त गर्ने गरेको छ । शिक्षा नियमावलीअनुसार प्रधानाध्यापक नियुक्त नगरी सहमतिको नाममा विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक नियुक्त गर्ने गरेको छ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जिल्लाका १० वटै पालिकालाई प्रधानाध्यापकको नियुक्ति प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । सोही बमोजिम कैलाख गाउँपालिकाले प्रधानाध्यापकको कार्यकालसम्बन्धी नियम कडाइका साथ पालना गराउने गरेको हो ।











