
हेटौँडा : नेकपा एमाले बागमती प्रदेश संसदीय दलले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । दलका प्रमुख सचेतक एकालाल श्रेष्ठ सूचना जारी गर्नुहुँदै साउन २७ गते बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्री बानियाँको विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गर्नुभएको हो ।
मुख्यमन्त्री बानियाँले साउन २७ गते मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसुची रहेको छ । मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो । त्यस्तै सुचनामा प्रदेशसभा बैठक बस्नुअघि साउन २७ गते मंगलबार दिउँसो १ बजे एमाले संसदीय दलको बैठक बस्ने भएकाले दलको कार्यालयमा उपस्थित हुन प्रदेशसभा सदस्यहरुलाई सुचित गरिएको छ ।
यसअघि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन नेपाली कांग्रेसले प्रदेशसभा सदस्यहरूलाई ह्वीप जारी गरेको थियो । शनिबार कांग्रेस बागमती प्रदेश संसदीय दलका सदस्य सचिव मीनकृष्ण महर्जनले एक सूचना सम्प्रेषण गर्दै मुख्यमन्त्री बानियाँको विश्वासको मत सम्बन्धी प्रस्ताव माथिको छलफलमा अनिवार्य उपस्थित हुन निर्देशन दिनुभएको छ ।
कांग्रेसका बागमती प्रदेश समितिका सभापतिसमेत रहनुभएका बानियाँ आफ्नो दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी कुल ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । ११० सदस्य रहेको बागमती प्रदेशसभामा बानियाँलाई विश्वासको मत प्राप्त गर्न ५६ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक रहन्छ ।










