हेटौँडा : रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका गोकर्ण लामा एक महिना अघि विदामा स्वदेश फर्कनुभएको थियो । स्नातक तहको वार्षिक परीक्षामा सहभागी हुन गोकर्ण स्वदेश आउनुभएको मौकामा मुक्तकम मञ्च मकवानपुरले बुधबार हेटौँडामा गोकर्ण लामा विशेष मुक्तक वाचन कार्यक्रमको आयोजना गरेको थियो ।
मुक्तक मञ्च मकवानपुरका संस्थापक सचिव गोकर्णले साहित्य संगम/सिस्नुपानीको सभाकक्षमा बुधबार २६ औं नियमित मुक्तक वाचन शृङ्खलामा मुक्तक वाचन गर्नुभयो । विदेशमा रहँदाको पीडा, स्वदेशमै रोजगारीको अवसरको आवश्यकताका सन्दर्भसहित केही प्रेमिल मुक्तक सुनाउनुभएका गोकर्णले विदेशमा रहँदा पनि लेखन कार्यलाई जारी राखेको र साहित्य लेखन, पत्रकारिताको अभ्यासको स्मरण गर्नुभयो ।
मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाको अध्यक्षता तथा अग्रज साहित्यकार देवराज खरेलको प्रमुख आतिथ्यमा मुक्तक वाचन कार्यक्रम भएको हो । कार्यक्रममा अन्य मुक्तककारले पनि मुक्तक वाचन गरेका थिए । गोकर्णले वाचन गर्नुभएका मुक्तकको साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनालले समीक्षा गर्नुभएको थियो ।











