नवनियुक्त मन्त्रीहरु सपथ ग्रहण गर्नुहुँदै ।

हेटौँडा : बागमती प्रदेशका ८ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । एमालेका ६ र कांग्रेसका २ मन्त्रीले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा सरकारमा गएका हुन् ।
एमालेबाट मधुसुदन पौडेल, बिन्दु श्रेष्ठ, जयराम थापा, भरतबहादुर केसी, किरण थापा र डा. दिनेशचन्द्र देवकोटाले मन्त्री पद पाएका छन् भने कांग्रेसबाट कृणकुमार तामाङ र शिवराज अधिकारीले पद तथा गोपनियताका सपथ लिएका हुन् । मन्त्री पदमा नियुक्त भएकाहरु विशेषगरी आन्दोलनमा कमाण्डर रहेका छन् ।

मधुसुदन पौडेल
बागमती प्रदेशसभा सदस्यमा ललितपुर १ (१) बाट निर्वाचित नेकपा एमालेका मधुसुदन पौडेल प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त भएका छन् । २०७९ को निर्वाचनमा ललितपुर १ (१) बाट पौडेलले ११ हजार २९९ मतसहित माओवादी केन्द्रका हरि दाहाललाई पराजित गरेर प्रदेशसभामा प्रतिनिधित्व पाएका थिए ।

ललितपुरको गोदावरी नगरपालिका–३, खहरेका पौडेलले व्यवस्थापन र समाजशास्त्रमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिएका छन् । २०२३ साल भदौ ८ गते ललितपुरका गोदावरी–३, खहरेमा जन्मिएका पौडेलको २०३९ बाट विद्यार्थीकालबाट राजनीतिक यात्रा थालेका हुन् । तत्कालिन समयमा अनेरास्ववियुबाट राजनीति सुरु गरेका पौडेल नमूना मच्छिन्द्र विद्यालयमा स्ववियु सहसचिव हुँदै उनी नेपाल कमर्स क्याम्पसको स्ववियु सभापति बने ।

२०४८ मा अनेरास्ववियुका केन्द्रिय समिति सदस्य बनेका पौडेल २०४९ मा केन्द्रिय प्रचार विभाग प्रमुख र २०५१ सालमा विदेश विभाग प्रमुखको जिम्मेवारी प्राप्त गरे । २०४३ मा तत्कालीन नेकपा मालेबाट दलीय राजनीतिमा प्रवेश गरेका उनले २०५१ मा एमाले ललितपुर जिल्ला कमिटी सदस्य र २०५९ मा नेकपा एमालेको ललितपुर सचिवको जिम्मेवारी पाए ।

२०६३ र ६६ मा एमालेको ललितपुर अध्यक्षको नेतृत्व सम्हालेका उनले भूमि आयोग ललितपुरको अध्यक्ष भएर पनि काम गरेका छन् । २०६४ र २०७० सालमा ललितपुर क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य पदका लागि निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । २०६४ मा माओवादी नेता वर्षमान पुनसँग पराजित भएका उनी २०७० मा नेपाली काँग्रेसका उदयशम्सेर राणासँग पराजित भएका थिए ।

विन्दु श्रेष्ठ
एमालेको समानुपातिक कोटामा आदिवासी जनजाति तर्फबाट बागमती प्रदेशसभा सदस्य बनेकी बिन्दु श्रेष्ठले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । काठमाडौंको चन्द्रगिरी नगरपालिका–४ ईमाखेलकी बिन्दु प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गरेकी छिन् ।

पारिवारिक पृष्ठभूमि राजनीतिक भएकाले उनलाई पार्टी राजनीतिमा होमिन केही सहज भयो । संविधानसभा सदस्य एवम् एमाले निकट ट्रेड युनियन महासंघका अध्यक्ष बिनोद श्रेष्ठ उनका सहोदर दाजु हुन् । तत्कालिन समयमा थनकोटस्थित बिन्दुको घर एमाले नेताहरुको सेल्टरको रुपमा विकास भएको थियो । जसले उनलाई राजनीतिमा लाग्न थप प्रेरित ग¥यो । २०४० मा अखिल नेपाल महिला संघ थानकोट गाउँ कमिटीको अध्यक्ष भएर काम गरेकी उनले २०४८ मा एमालेको पार्टी सदस्य भएकी हुन् ।

२०५४ मा थानकोट गाविसको सदस्य निर्वाचित भएर जनप्रतिनिधिको भूमिका समेत उनले निर्वाह गरिसकेकी छिन् । एमालेको इलाका, क्षेत्र लगायतका कमिटिमा बसेर काम गरिसकेकी छिन् । राजनीतिक यात्राका क्रममा राज्यबाट परिवारका सदस्यहरु पटक पटक गिरफतारीमा पर्दा उनी सहसका साथ अडिग रहने गर्थिन् । २०६३/०६३ को जनआन्दोलनमा उनले काठमाडौं पश्चिम क्षेत्र (थानकोटसम्म)को महिला समितिको नेतृत्व गर्ने अवसर समेत पाइन् । उनको अगुवाईमा २०६३ बैशाख ६/७ को महिलाको वृहत जुलुस आयोजना भयो । जसमा राज्यका तर्फबाट दमन समेत भएको थियो । एमालेको सातौं र १० औं महाधिवेशनमा प्रतिनिधि भएकी उनी उनी हाल एमाले काठमाडौं जिल्ला कमिटिकी सचिवालय सदस्य र संसद विभागमा आवद्ध भएर काम गर्दै आएकी छिन् ।

भरत बहादुर केसी
प्रदेशसभा सदस्य भरत बहादुर केसी दोलखाबाट प्रदेशसभामा निर्वाचित भएका हुन् । २०७९ को प्रदेशसभा निर्वाचनमा १९ हजार ४१४ मत प्राप्त गरेका केसीले कांग्रेसका उम्मेदवार बर्मा लामालाई पराजित गरेका थिए । दोलखामा एमालेलाई पराजित हुनबाट जोगाएका केसीलाई प्रदेशको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

एमाले दोलखाको उपसचिव हुँदै बागमती प्रदेश कमिटी सदस्य बनेर काम गरेका केसीले भीमेश्वर नगरपालिकाको मेयर समेत भइसकेका छन् । केसीले २०५४ जिल्ला विकास समिति दोलखाको सदस्यमा निर्वाचित भएर काम गरिसकेका छन् । २०२२ साल भदौ ७ गतेमा जन्मिएका केसीले २०३६ को पञ्चायती विरुद्धको विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनीतिक जीवनको शुरुवात गरेका हुन् । केसी नेपाल ल क्याम्पसमा उच्च शिक्षा अध्ययनको क्रममा अनेरास्ववियु प्रारम्भिक कमिटीमा बसेर काम गरेका थिए । कानुनमा स्नातक तह पास गरेका केसीले २०४६ सालमा पार्टीको संगठित सदस्यता लिएर २०५० मा एमाले जिल्ला कमिटी दोलखाको जिल्ला कमिटी सदस्य बनेका थिए । केसीले नेपाल खेलकुद महासंघको केन्द्रिय उपाध्यक्ष तथा बागमति प्रदेश प्रमुखको रुपमा जिम्मेवारी पाइसकेका छन् ।

किरण थापा
किरण थापा मगरले पुनः बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्य पदमा भक्तपुर २ (क) बाट निर्वाचित भएका उनले दोस्रो पटक मन्त्री बन्ने अवसर पाएका हुन् ।

२०३३ भादै १४ गते जन्मिएका थापा क्रसर व्यवसायी हुन् । २०७४ मा सूर्यविनायक नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । भक्तपुर सूर्यविनायक–८ शिपाडोलका थापा प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा लामो समयदेखि क्रसर व्यवसाय सञ्चालन गरिरहेका थापा २०७४ को स्थानीय तह निर्वाचनदेखि भने पूर्णकालीन रुपमा एमालेको राजनीतिमा सक्रिय छन् । खेलकुदको क्षेत्रमा रुचि राख्ने थापा नेपाल तेक्वाण्डो संघका बागमती प्रदेशको कोषाध्यक्ष, सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्ष भएर काम गरिसकेका छन् ।

थापाले २०५३ मा २० बर्षको उमेरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, गाउँ कमिटी अध्यक्ष हुँदै राजनीतिक यात्रा सुरु गरेका थिए । तत्कालिन समयमा राप्रपाका विभिन्न भूमिकामा रहँदै आएका उनी २०७१ पुसबाट एमालेमा प्रवेश गरेका थिए ।

डा. दिनेश चन्द्र देवकोटा
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष भइसकेका डा. दिनेशचन्द्र देवकोटा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् । गोरखामा जन्मिएका उनी हाल काठमाडौं–४ लमटङगीनका स्थायी बासिन्दा हुन् । एमालेका तर्फबाट समानुपातिक तर्फ खसआर्य कोटामा प्रदेशसभा सदस्य बनेका उनले विद्यावारिधी गरेका छन् ।

इन्जिनियर देवकोटा सन् २००८ देखि २०११ सम्म नेपालको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुन् । उनले २००५ मा जापानको सैतामा विश्वविद्यालयबाट विद्यावारिधि र १९९६ मा संयुक्त राज्य अमेरिकाको दक्षिणी इलिनोइस विश्वविद्यालयबाट एमएससी गरेका छन् । उनी एमाले निकट नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष हुन् ।

जयराम थापा
अधिवक्ता जयराम थापा अनेरास्ववियुको स्कूल कमिटी अध्यक्ष हुँदै राजनीतिमा होमिएका हुन् । काठमाडौं क्षेत्र नम्बर ४ (२) बाट बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका थापा श्रम रोजगार तथा यातायात मन्त्री नियुक्त भएका छन् ।

कुटनीतिक कानूनमा विद्यावारिधी (पिएचडी) गरिरहेका थापाको जन्म बूढानीलकण्ठ नगरपालिका–२ मा २०३३ कात्तिक १७ गते भएको हो । बुवा तारा बहादुर थापा र आमा अडरकुमारी थापाका माईलो छोरा थापाले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट सन् २०२० देखि कुटनीतिक कानूनमा विद्यावारिधी गरेका हुन् ।

२०४९ सालमा गणेश माध्यमिक विद्यालयको अनेरास्ववियु प्रारम्भिक कमिटीका अध्यक्ष भएका थापा अनेरास्ववियुको राजनीतिमा क्रियाशील हुन पुगे । थापा २०६८–०७० सम्म पाटन उच्च बार कमिटीको अध्यक्ष भएर काम गरे । २०७३–०७४ मा नेकपा एमाले केन्द्रिय संस्कृति विभागको सदस्यको जिम्मेवारी पाएका उनी २०७१ बूढानीलकण्ठ क्षेत्र विकास समितिको अध्यक्ष बनेका थिए । उनी हाल एमाले काठमाडौं जिल्ला कमिटिमा सक्रिय भएर काम गरिरहेका छन् ।

शिवराज अधिकारी
धादिङका शिवराज अधिकारी कांग्रेसबाट समानुपातिकतर्फ खसआर्य कोटामा बागमती प्रदेशसभा सदस्य बनेका हुन् । धादिङको ज्वालामुखी गाउँपालिका–४, कुशुका अधिकारी स्नातकसम्मको औपचारिक अध्ययन पुरा गरेका छन् ।

२०२४ मा भदौबाट कांग्रेसको विद्यार्थी राजनीति थालेका अधिकारी २०२७ मा नेवी संघ धादिङको अध्यक्ष भए । २०२८ मा रेडक्रस सेसाइटि धादिङको संसथापक अध्यक्ष भएका उनी २०३३ मा तत्कालिन पार्टी सभापतिले कांग्रेस धादिङ जिल्ला समितिको सदस्य मनोनित गरे । सदस्यबाट सुरु भएको अधिकारीको पार्टी राजनीति लामो समय उपसभापतिमा बित्यो । २०५९ मा मात्र उनले कांग्रेस धादिङको सभापतिको जिम्मेवारी पाए । २०४६ को जनआन्दोलनमा उनले धादिङमा कमाण्डरको भुमिका निर्वाह गरेका थिए ।

राजनीतिको दौरानमा २०२९ मा उनी भूमिगत समते हुनुपरेको थियो । सो समयमा भएको बम काण्डमा मुछिएका उनलाई राज्यद्रोहको मुद्दा लागेपछि भूमिगत भएका थिए । ६ महिना भूमिगत रहेका अधिकारी हाल बागमती प्रदेशको समानुपातिक प्रदेशसभा हुँदै मन्त्री नियुक्त भएका हुन् ।

कृष्णकुमार तामाङ
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ (२) बाट निर्वाचित कृष्णकुमार तामाङ प्रदेशको खानेपानी उर्जा तथा सिंचाई मन्त्री नियुक्त भएका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ थकनीका स्थानीय तामाङ विद्यार्थी जिवनबाट राजनीतिमा लागेका उनी पूर्व जनप्रतिनिधि समेत हुन् ।

नेविसंघको राजनीति गरेर आएका उनी पछि तरुण दलमा आवद्ध भए । तरुण दलको क्षेत्रीय सभापति चलाएर पार्टी राजनीतिमा होमिएका उनी पार्टीको १४ औं महाधिवेशनमा पार्टीको क्षेत्रीय सभापतिमा पराजित भए । सो पश्चात उनी पदविहिन रहेका छन् । यद्यपी उनी पार्टीले जिल्ला र प्रदेश संचालन गर्ने कार्यक्रममा सक्रिय सहभागी हुने गरेका छन् । उनलाई पार्टीले विशेषगरी निर्वाचनको कमाण्डरको भूमिकामा खटाउने गरेको छ । उनी लोकतान्त्रिक खेलकुद महासंघको केन्द्रीय सदस्य समेत भएर काम गरिसकेका छन् । उच्च माध्यमिक तहसम्मको औपचारिक शिक्षा आर्जन गरेका उनी निर्माण व्यवसायमा आवद्ध छन् ।