हेटौंडाः विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम मकवानपुर जिल्लामा पनि उच्च दरले बढ्दै गएको छ । कोरोना भाइरसको प्रकोप बढ्दै गइरहेकाले जिल्ला समन्वय समिति मकवानपुरले जनसमुदायमा सङ्क्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न अपील गरेको छ । जिल्लामा कोरोनाको सङ्क्रमण दर बढेसँगै यसको रोकथाम तथा व्यवस्थापनका लागि सरकारले लिएका नीतिगत र व्यावहारिक निर्णयलाई ध्यानपूर्वक पालना गर्न समेत जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले अनुरोध गर्नु भएको छ ।
कोरोना भाइरसको जोखिम कम गर्नका लागि एक अर्का बीचको भौतिक दूरी कायम गर्नु नै सबैभन्दा महत्वपूर्ण कुरा रहेको प्रमुख खुलालको भनाइ रहेको छ । मकवानपुरमा आज मध्यरातीबाट जारी गरिएको निषेधाज्ञाको पूर्णपालना गर्दै घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भएमा भौतिक दूरी कायम राख्ने, मास्कको प्रयोग गर्ने र नियमित हात धुने बानीले संक्रमणको सम्भावना कम हुने हुदा सम्पुर्ण मकवानपुरवासिलाई सरकारको निर्णय पालना गर्दै स्वास्थ्य सावधानी अपनाउन समेत जिल्ला समन्वय समितिले अपील गरेको छ । त्यस्तै मकवानपुर जिल्लामा कुनै पनि किसिमको भेला, बैठक, खेलकुद, सांस्कृतिक कार्यक्रम, विवाह, ब्रतवन्ध आदी नगर्न र नगराउन समेत जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबैमा अपिल गर्नुभएको छ ।