हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकामा आगामी बुधबार गाउँ शिक्षा समितिको बैठक बस्दै छ । पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले शुक्रबार एक सूचना जारी गर्दै बुधबार बैठक बस्ने जनाएको छ । बैठकमा विद्यालयको लेखा, कार्यविधी बनाउने, मावि र निमावि विद्यालयका विद्युतीय हाजिरी लगाउने, शिक्षक दरबन्दी व्यवस्थापन गर्ने लगायत विषयमा छलफल हुने पालिकाका शिक्षा शाखा प्रमुख समीर जोशीले जानकारी दिनुभयो ।

कैलाश गाउँपालिकाका विद्यालयमा पहिलो त्रैमासिक परीक्षा असार २२ गतेदेखि ३० गतेसम्म पालिकाको शैक्षिक क्यालेण्डरअनुसार संचालन भएको थियो । पछिल्लो वर्षदेखि गाउँपालिकाले नै सञ्चालन गर्दै आएकाले परीक्षा क्यालेण्डरअनुसार नै सञ्चालन भएको हो । शिक्षा शाखा प्रमुख जोशीका अनुसार यसवर्ष परीक्षापश्चात् अतिरिक्त कक्षा सञ्चालन हुनेछैन । प्रथम त्रैमासिक परीक्षापछि विद्यालय बिदा भएको छ । विद्यालय साउन २६ गतेबाट खुल्ने उहाँले जानकारी दिनुभयो ।

गत वर्ष कैलाश गाउँपालिकाका ४५ जना विद्यार्थी एसईईमा उत्तीर्ण भएका थिए । पालिकाका भित्र रहेको ६ वटा मावि विद्यालयबाट १ सय ६१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने ४५ जना (२७.९५ प्रतिशत) विद्यार्थी उत्र्तीण भएका थिए । पालिकामा ६ वटा मावि, ४ निमावि र ३३ वटा प्रावि गरी ४३ वटा विद्यालय रहेका छन् । गाउँपालिकाका विद्यालयमा हाल ५ हजार जना विद्यार्थी अध्ययनरत छन् । गत वर्षको तुलनामा यस वर्ष ३ सय जना विद्यार्थी कम भर्ना भएका छन् ।