हेटौँडा : नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई शनिबार हेटौँडामा नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ । महिला पत्रकारहरुको संस्था सञ्चारिका समूह मकवानपुरले ‘देश चिनाउने साम्बासँग हाम्रो चिनजान’ कार्यक्रम आयोजना गरेर साम्बालाई सम्मान गरेको हो । साम्बालाई सम्मानसँगै ५० हजार रुपैयाँ रकम हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्रायोजन गरेको हो ।
सम्मानपछि साम्बाले संघर्षसँगै आफूले सफलता हासिल गरेको बताउनुभयो । आफूले मोजाको भकुण्डोबाट फुटबल करिअर सुरुवात गरेको बताउनुहुँदै उहाँले सम्मान ग्रहणपछि आफ्नो विगतबारे बताउनुभएको हो । उहाँले सुरुवाती दिनमा धेरै मिहिनेत र संघर्ष गरेकै कारण अहिले सफलता मिलेको भन्दै मिहिनेतले नै अरु भन्दा फरक बनाउने बताउनुभयो । आफ्नो बाल्यकाल अभावमा बितेका कारण भकुण्डो किन्ने क्षमता नभएको साम्बाले स्मरण गर्नुभयो । नयाँ पुस्तालाई खेल्नका लागि सामग्रीको अभाव नरहेको र स्थानीय सरकारले पनि खेलप्रति सकारात्मक धारणा राखेको उहाँको भनाई थियो । यस्तै हरेक क्षेत्रसँगै शिक्षाको पनि आवश्यकता रहने साम्बाले बताउनुभयो ।
सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बाँनियाको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको पनि सहभागिता रहेको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले महिला फुटबल खेलाडीहरुले खेलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको उल्लेख गर्नुहुँदै पछिल्लो समय खेलप्रतिको धारणामा परिवर्तन आएकोले खेल क्षेत्रलाई प्राथमिकता दिएर स्थानीय सरकारले पनि काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य टिका लामा, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, सञ्चारिका समूह मकवानपुरकी संस्थापक अध्यक्ष सरिता दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।











