नेपाली इतिहास लेखनमा विभिन्न स्रोत प्रयोग गरिन्छ । जसमा विभिन्न राजा राजौटाका शासनकालमा जारी गरिएको उर्दी, सनद्, अभिलेखीय स्रोत, पुरातात्विक स्रोत, मौखिक स्रोत (श्रुति परम्परा), चिठ्ठी पत्र, धार्मिक साहित्यिक स्रोत आदि मुख्य हुन् । ती मध्ये यि विभिन्न माध्यमबाट उपलब्ध साहित्यिक स्रोतले कुनै समय विशेषको ईतिहास, सामाजिक, साँस्कृतिक र राजनैतिक अवस्था बुझ्न महत्वपूर्ण भूमिका खेल्दछ । तर यस्ता स्रोतहरूमाथि पूर्णरूपमा निर्भर हुन सकिँदैन ।
ईतिहासको परिप्रेक्षमा यसका साहित्यिक स्रोतका सीमितता भन्नाले विभिन्न राजा राजौटाका शासनकालमा जारी गरिएको उर्दी, अभिलेखीय स्रोत, पुरातात्विक स्रोत, मौखिक स्रोत (श्रुति परम्परा), धार्मिक साहित्यिक स्रोत, तत्कालिन समयका कृति, काव्य, आख्यान, निबन्ध, जीवनी, विभिन्न तत्कालिन समयका विद्वान्हरुका यात्रा–वृत्तान्त आदि बुझिन्छ । जसले इतिहासबारे प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा तत्कालिन समयको ईतिहासको जानकारी दिएका हुन्छन् । यि साहित्यिक स्रोतका माध्यमबाट नै समयावधिक हिसावले त्यस समयको समाज, राज्य अनि व्यवस्थालाई बुझ्न सकिन्छ । ति मध्ये प्रमुख साहित्यिक स्रोतहरु तपशीलमा उल्लेखित निम्न छन् :–
नेपाली ईतिहासका प्रमुख साहित्यिक स्रोतहरू :–
क. पुरातत्वका रुपमा प्राप्त विभिन्न प्राचिन अवशेषहरु, गुरुकुलमा विकसित श्रुति परम्परा,
ख. विभिन्न कालखण्डका नेपाल, भारत तथा तिब्बतमा प्राप्त प्राग ऐतिहासिक दस्तावेजहरु,
ग. विभिन्न धार्मिक ग्रन्थहरु,
घ. राजा, महाराजाका प्रशस्तिहरू उल्लेख भएको अभिलेखहरु,
ङ. तत्कालिन समयका सामन्त, साहू महाजन, व्यापारीका चिठ्ठीपत्रहरु,
च. मन्दिर, देवालय आदीमा विभिन्न भाषामा उल्लेखित अभिलेखहरु,
छ. विभिन्न वंशावलीहरु, (गोपालराज वंशावली, भाषा वंशावली आदि)
ज. प्रा. डा. पेशल दाहाल लगायत विभिन्न ईतिहासकारका ग्रन्थ, पुस्तकहरु,
झ. धार्मिक, व्यापारिक रुपमा नेपाल भई यात्रा गर्ने तत् समयका विद्वान्हरुको यात्रा वृतान्त,
ञ. सदियौंदेखि नेपाली समाजमा चली आएको जनश्रुति, गीत र लोककथा आदि,
नेपाली इतिहास लेखनमा साहित्यिक स्रोतको भूमिका :–
क. तत्कालीन समयको जनजीवन, परम्परा, धर्म–संस्कार तथा साँस्कृतिक अभ्यासको अवलोकन गर्न,
ख. राष्ट्रको समग्र साँस्कृतिक चेतना बुझ्न,
ग. केही ऐतिहासिक घटनाक्रमको माध्यमबाट राज्य व्यवस्थाको बारेमा बुझ्न,
घ. तत्कालिन समयको अर्थ व्यवस्था, राज्य सञ्चालनको प्रक्रिया आदी विश्लेषण गर्न,
ङ. राज्यको भुगोलको जानकारी लिन,
च. र अन्त्यमा समग्र वस्तुस्थितिको जानकारी लिई नव सन्ततीहरुलाई ईतिहासको जानकारी दिन,
इतिहास संस्कृत शब्दको ईति र हासः दुई शब्द मिलेर बनेको एक शब्द, जसको शाब्दिक अर्थ त्यही नै हो वा त्यहि नै भएको हो भन्ने हुन्छ । अंग्रेजी शब्दको History जस्तो Hi-Story अर्थात् उच्च कथा–कथन जस्तो अतिरञ्जित ईतिहासका स्रोतले वास्तविक तत्कालिन समाजको प्रतिनिधित्व नगर्ने हुँदा नेपाली ईतिहासका प्राप्त स्रोतको मिहिन विश्लेषण गर्न भने आवश्यक रहेको छ । (उदाहरणस्वरूप ः भीमसेन थापाको जिवनी चित्रण केही कथा, नाटक वा आख्यानहरूमा भेटिन्छ, जुन तिनको व्यक्तित्व बुझ्न उपयोगी भए पनि सम्पूर्ण साँचो प्रतिबिम्ब भने होइन ।)
नेपाली ईतिहासका साहित्यिक श्रोतका सीमितता :–
प्राग ऐतिहासिक कालदेखिका ईतिहासका विविध सामग्री भए तापनि बस्तुनिष्ठ तवरले सो तथ्यलाई पुष्टि गर्ने वा प्रमाणिकता जाँच्ने अकाट्य ऐतिहासिक सामग्रीको उपलब्धता नहुनुले नेपाली ईतिहासका साहित्यिक श्रोत संकुचित भएको पाईन्छ । लिपिको विकासक्रमसँगै भने नेपाली ईतिहासका प्रामाणिक अभिलेखहरु प्रशस्त उपलब्ध छन्, तथापी यी अभिलेखको राज्यस्तरबाट उचित संरक्षण भने हुन सकेको छैन । नेपालको धेरैजसो स्थानमा प्राचिन अभिलेखहरु अलपत्र अवस्थामा संरक्षणको पर्खाईमा यत्रतत्र छरिएर रहेको पाईन्छ ।
पक्षपात र अतिरञ्जना :–
लेखकको दृष्टिकोण वा भावनाले इतिहास विकृत हुने सम्भावना बढी हुन्छ । उदाहरणका लागि दरबारका तत्कालिन समयका पण्डित लेखक माथि राजा वा दरबारको पक्षमा लेख्न मानसिक रुपमा दबाबको सिर्जना गरिएको पाईन्छ, जसले गर्दा राजा रजौटाका विषयमा अपत्यारिलो, अतिरञ्जित हुने किसिमका, बढाई चढाई गरिएका अपत्यारिला घटनाक्रमले स्थान पाउँदा आजको समयमा तत्कालिन समयको घटनाक्रमको ईतिहासको अध्ययन विश्लेषण गर्दा वास्तविक यथार्थता भन्दा बाहिर भएको घटनाको सन्दर्भ आउँदछ ।
लेखक तटस्थ नहुँदा वा लेखकको पूर्वाग्रही भावनाले ग्रसित हुँदा ईतिहास नै तोडमोड हुन सक्ने सम्भावना प्रचुर रहेको पाईन्छ । नेपालको ईतिहासको सन्दर्भमा भन्ने हो भने, विभिन्न कालक्रमको घटनाको सन्दर्भमा हालसम्म पनि सो को यर्थाथता बाहिर आउन सकेको छैन, अड्कल र हचुवाको भरमा धारणा बनाउन बाध्य हुन परेको अवस्था छ ।
उदाहरणका लागि राजा प्रताप मल्ल १५ भाषामा पोख्त थिए भन्ने विषयको आधिकारकिता आज पर्यन्त काहीँ कतैबाट पुष्टि भएको छैन । त्यस्तै भृकुटीको बारेमा तिब्बती श्रोतहरुमा मात्र उल्लेख हुनु, नेपाली ऐतिहासिक श्रोतमा उल्लेख नहुनु, भृकुटी कस्की छोरी थिईन् भन्ने विषयमा नै ईतिहासकारहरु बीचमा विभाजन हुन, एक उदाहरणको रुपमा लिन सकिन्छ ।











