हेटौँडा : मकवानपुर बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई शिक्षण क्षमता अभिवृद्धिका लागि ४८ घण्टे क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको छ । शिक्षण सेवामा आवद्ध तथा शिक्षण सेवामा आवद्ध हुन रुचि राख्ने विद्यार्थीलाई लक्षित गरेर क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको क्याम्पसले जनाएको छ । शुक्रबार एक कार्यक्रमका बीच क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गरिएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको अध्यक्षता तथा त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायका डीन प्राध्यापक डा. वेदराज आचार्यको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो । साउन महिनाभित्रै क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरिसक्ने क्याम्पस प्रमुख यमबहादुर सिलवालले जानकारी दिनुभयो । क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी हुन १ सय २० जनाभन्दा बढी विद्यार्थीले आवेदन दिएको उहाँले बताउनुभयो । नियमित पाठ्यक्रम अध्ययन गरेका विद्यार्थीको शिक्षण सीप विकास तथा अध्यापन क्षमता अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा शिक्षण सीप, सुक्ष्म पाठ्यक्रम निर्माण, शिक्षणमा सूचना प्रविधिको प्रयोग, सिकाइ मूल्यांकन, शैक्षिक पद्दतिमा दक्षता विकास तथा कक्षा व्यवस्थापनमा सुधारका विषयमा विद्यार्थीलाई प्रशिक्षित गराइनेछ । शिक्षाशास्त्र संकायमा स्नातक तह अध्ययनरत विद्यार्थीलाई अध्ययनसँगसँगै सीप सिक्न, रोजगारीसँग जोडिन तथा आयआर्जनमा समेत प्रोत्साहन गरिएको क्याम्पसले जनाएको छ । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष अशोक शाक्य, क्याम्पस प्रमुख यम बहादुर सिलवाल, प्याव्सन मकवानपुरका उपाध्यक्ष नवीन केसी, पब्लिक क्याम्पस प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष घनश्याम घिमिरे, स्ववियु अध्यक्ष प्रसिद्ध रेग्मीको पनि आतिथ्य रहेको थियो ।











