गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा ठूलो क्षति भयो । वर्षाका कारण थुप्रै सडक तथा पुलमा क्षति पुगेपछि केही दिन यातायात साधन सञ्चालनमा कठिनाई भयो । वर्षाका कारण हेटौंडा–काठमाडौं आवतजावत गर्ने छोटो दुरीको सडक सञ्जाल अवरुद्ध बन्यो । प्रदेश सरकारले विशेष चासो दिएर स्तरीकरण गरिरहेको कुलेखानीदेखि सिस्नेरी हुँदै दक्षिणकाली जाने सडक र कुलेखानीबाट फाखेल हुँदै फर्पिङ जाने सडकमा क्षति पुग्यो । बाढीका कारण कुलेखानी फाखेल सडकको महालक्ष्मी खोलानजिक सडक कटान गरेको थियो भने कुलेखानी सिस्नेरी सडकको ज्यामिरे नजिक र सिस्नेरी बजारमा सडक बगायो । वर्षाले कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवर भरिएपछि बाँधको ढोका खोल्दा सिमखोलाको पुल र आसपासका सडकमा क्षति पुग्यो ।
बागमती प्रदेश सरकारले तत्काल डाइभर्सन बनाएर उक्त दुबै मार्ग सञ्चालनमा ल्याएको भए पनि क्षतिग्रस्त पुलको पुननिर्माण हुन सकेको थिएन । बाढीले बगाएको सडक पुननिर्माण समयमै सुरु गरेर वर्षाअघि नै यातायात सञ्चालन गराएको प्रदेश सरकारले पुल निर्माणमा भने ढिलाइ गरेको थियो । वर्षा सुरु भएपछि सिमखोलाको डाइभर्सन जुनसुकै बेला बगाउन सक्ने सम्भावना भएकाले प्रदेश सरकारले वर्षा अघि नै बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने योजनाका साथ कामलाई तिब्र बनाइएको छ । सिमखोलामा ५७ मिटर लामो बेलिब्रिज जडान भइरहेको छ । भैंसे–भीमफेदी सडक खण्डका २ वटा बेलिब्रिज झिकेर सिमखोलामा जडान गरिँदैछ । घट्टेखोलामा रहेको १३ मिटर लामो र मान्डु खोलामा रहेको ५० मिटर लामो बेलिब्रिज झिकेर ल्याइएको बेलिब्रिज एक साताभित्रै सञ्चालन हुने लक्ष्यसहित काम भइरहेको छ ।
संघीय राजधानी काठमाडौं र प्रदेश राजधानी हेटौंडा जोड्ने सडक प्रदेश सरकार मातहतको यातायात पूर्वाधार निर्देशनालयले स्तरीकरण गराइरहेको छ । फाखेल र सिस्नेरी हुँदै जाने दुबै सडकलाई फराकिलो पारेर कालोपत्रे गर्ने काम करिब सम्पन्न भइसकेको भए पनि विभिन्न ठाउँमा बाढी तथा पहिरोले सडकमा क्षति पुर्याइरहेको छ । दशकौंदेखि स्तरीकरण भइरहेको भए पनि उक्त सडक खण्डको निर्माण कार्य सम्पन्न हुन सकेको छैन । बागमती प्रदेश सरकारले आफ्नो बजेटको ठूलो हिस्सा सडक तथा पुल निर्माणमा खर्च गर्दै आइरहेको सन्दर्भमा प्रदेश राजधानीलाई संघीय राजधानीसँग जोड्ने छोटो दुरीको सडक स्तरीकरणमा जोड दिए पनि समयमा काम सम्पन्न नहुने समस्याले निर्माण कार्य पूरा हुन नसकेको हो ।
वर्षा भइरहेको भए पनि मकवानपुरमा यस वर्ष ठूलो पानी परेको छैन । ठूलो पानी पर्नासाथ कुलेखानी हुँदै काठमाडौं जाने सडकको धेरै क्षेत्रमा पहिरो खस्ने जोखिम टड्कारो छ । वर्षाले सडक अवरुद्ध हुनसक्ने सम्भावित क्षेत्र पहिचान गरी तत्काल सडक सुचारु गर्ने व्यवस्थापनका लागि प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय गम्भीर बन्नु आवश्यक छ । सडक स्तरीकरणको कामलाई प्रभावकारी बनाएर चाँडै ती सडक खण्ड निर्माण सम्पन्न गर्न पनि प्रदेश सरकारले थप सक्रियता देखाउनु उचित हुनेछ । विस्तार गरिएको सडकमा जताततै पहिरो खस्ने, नाली पुरिने र बगेको पानीले सडक कटान गर्नसक्ने भएकाले त्यसको निराकरणका लागि पूर्वतयारी गरिनुपर्छ । सडक सञ्जाल निर्वाध सञ्चालन हुने अवस्था बनाएर आवागमन सहज बनाउन प्रदेश सरकारले विशेष संयन्त्र बनाउनु उचित हुनेछ ।











