हेटौँडा–१८ स्थित कमल आधारभूत विद्यालयमा परीक्षा दिँदै विद्यार्थी ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा प्रथम त्रैमासिक परीक्षा सुरु भएको छ । नगरस्तरीय शैक्षिक समन्वय समितिले तयार गरेको प्रश्नपत्रको आधारमा साउन ६ गतेदेखि उपमहानगरका ५८ वटा सामुदायिक विद्यालयहरुमा प्रथम त्रैमासिक परीक्षा सुरु भएको हो ।

हेटौंडा नगर क्षेत्रभित्रका ६९ सामुदायिक विद्यालयमध्ये ५८ विद्यालयमा समितिले तयार गरेको प्रश्नपत्रको आधारमा परीक्षा सञ्चालन भइरहेको छ । नगर क्षेत्रमा अन्य ११ विद्यालयहरुले आफैँ प्रश्नपत्र तयार गरी आफ्नो अनुकूलतामा परीक्षा सञ्चालन हुने नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाका परीक्षा समिति संयोजक कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

नगरस्तरीय शैक्षिक समन्वय समितिले निर्माण गरेको प्रश्नपत्रबाट कक्षा १ देखि ३ सम्म उपलब्धि मापन परीक्षा र कक्षा ४ देखि १० सम्मको प्रथम त्रैमासिक परीक्षा भइरहेको छ । परीक्षा साउन १३ गतेसम्म सञ्चालन हुने पोखरेलले बताउनुभयो । परीक्षामा १२ हजार विद्यार्थीहरु सहभागी भएको उहाँले जानकारी दिनुभयो ।

नगरस्तरीय शैक्षिक समन्वय समितिले हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाको शैक्षिक क्यालेण्डर अनुसार परीक्षा कार्यक्रम गर्ने र विद्यालय सुधारसम्बन्धी सुझाव संकलन गर्दै आएको संयोजक पोखरेलले जानकारी दिनुभएको छ ।