हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा विभिन्न घटनामा एकैदिन ६ जनाको मृत्यु भएको छ । प्रदेशको नुवाकोट, चितवन र सिन्धुली जिल्लामा एकैदिन ६ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगर पालिका–२७, मेघौलीमा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मेघौलीका ३२ वर्षीय राम कुमार चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार साँझ ५ बजेर ४५ मिनेटको समयमा एयरपोर्ट अगाडी रामकुमार अचेत अवस्थामा फेला परेका थिए । रामकुमारलाई उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएको थियो । उपचारको क्रममा साँझ ६ बजेर ५० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगर पालिका–१, जोरकुशुम पार्कस्थित नारायणी नदीमा अचेत अवस्थामा फेला परेका बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला घर भई हाल भरतपुर महानगरपालिका–१, आँपटारीका ९ वर्षीय असिम घर्ती रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार दिउँसो ४ बजेको समयमा असिम पौडी खेल्ने क्रममा डुबेर अचेत अवस्थामा फेला परेका थिए । असिमलाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा दिउँसो ४ बजेर १९ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
चितवनको रत्ननगर नगरपालिका–१, सौराहा चोकमा बेहोस अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । आइतबार साँझ ५ बजेर १७ मिनेटको समयमा हाल नाम थर नखुलेका अन्दाजी ४५ मिनेटको समयमा बेहोस अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । पुरुषलाई उपचारका लागि टाँडीस्थित बकुलर हस्पिटल लगएकोमा साँझ ५ बजेर ४५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ ।
नुवाकोटको पन्चकन्या गाउँपालिका–५, चनडाँडामा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीय मनिष गिरी रहेको प्रहरीले जानकारी दिएको छ ।
आइतबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा मनिष बाख्रा चराउन गएकोमा चनडाँडा भिरबाट २० मिटर तल खस्दा गम्भिर घाइते भएका थिए । मनिषलाई उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अस्पताल लगिएकोमा उपचारको क्रममा साँझ ५ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–७, बेलगासी ग्वाङखोलाको दोभानमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय बुद्ध स्याङबा रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार दिउँसो १२ बजेको समयमा स्याङबा ग्वाङखोलाको दोभानमा नुहाउन गएकोमा खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुलीको फिक्कल गाउँपालिका–३, चनौटेमा रुखबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ४१ वर्षीय इन्द्र आले मगर रहेको प्रहरीले जानकारी दिएको छ । इन्द्र दिउँसो ४ बजेको समयमा रुखबाट लडेर घाइते भएका थिए । इन्द्रलाई उपचारका लागि चरिकोटस्थित पशुपती चौलागाई स्मृती अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।











